डडेल्धुरा ।
डडेल्धुराका झण्डै चार दशक पछि भुमिहिन जनता जमिनका मालिक भएको छन । सुकुमवासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
साविक जोगबुढा गाविस वडा नं. १ मा २०४५ सालमा सुकुमवासी समस्या समाधान आयोगले नापनक्सा गरेको भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयले लामो समयसम्म जग्गाधनी पुर्जा पाउन सकेका थिएनन्।
०५५ साल पुस २६ गते पुनः सुकुमवासी समस्या समाधान आयोगले प्रक्रिया अघि बढाए पनि पुर्जा वितरण हुन सकेन। विगतका आयोगबाट सुरु भएको काम अधुरै रहँदा खजुरानी र तुलाभाडी गाउँका स्थानीय लामो समयदेखि जग्गाधनी पुर्जाको पर्खाइमा थिए।
करिब ३८ वर्षअघि नापनक्सा भए पनि स्वामित्वको कानुनी प्रमाण पाउन नसकेका स्थानीयले लामो प्रतीक्षापछि जग्गाधनी दर्ता प्रमाणपुर्जा प्राप्त गरेका हुन्। हालको समितिको कार्यविधि तथा प्रचलित नियमअनुसार विगतमा भएका अधुरा कामलाई निरन्तरता दिँदै प्रक्रिया अघि बढाइएको हो। सोही क्रममा नियमानुसार राजस्व संकलन गरी विगतमा आयोगबाट नापनक्सा भइसकेका जग्गाको प्रक्रिया पूरा गर्दै १२ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो ।
