बैतडीमा बजार अनुगमन

बैतडी । देशभर खाना पकाउने ग्यासको अभाव भइरहेका बेला बैतडीमा बजार अनुगमन सुरू गरिएको छ । बजारमा खाना पकाउने ग्यासको उपलब्धता कत्तिको छ भनेर अनुगमन थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत भोजलाल थारुले बताए ।

जिल्लाका मुख्य बजारहरुमा बिशेष गरेर ग्यास विक्री गरिरहेका पसलहरुमा अनुगमन गरिएको प्रशासकीय अधिकृत थारुले बताए । कतिपय ठाउँमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको गुनासो आइरहेकाले अनुगमन गरिएको उनले बताए ।

बैतडीको गोठलापानी, देहीमाण्डौं, मुस्याचौर, सतबाँझ, सिल्लेगडा, खोचलेक, पाटन लगायतका बजारमा अनुगमन गरिएको प्रशासकीय अधिकृत थारुले बताए । अनुगमन गरिएका ठाउँमा ग्यासको अभाव नरहेको पाइएको उनले बताए । उनले भने, ‘हामीले बजारमा ग्यासको उपलब्धताका बिषयमा हेरिरहेका छौं । बैतडीका मुख्य बजारहरुमा अहिले ग्यासको त्यस्तो अभाव भएको हामीले पाएका छैनौं । ग्यासको सहज उपलब्धताका बिषयमा व्यापारीहरुसँग छलफल पनि गरिरहेका छौं ।’

प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईको नेतृत्वमा रहेको अनुगमन टोलीले बजार अनुगमन गरिरहेको हो । बजारमा खाद्यान्न पसल, मेडिकल लगायतका पसलहरुमा पनि अनुगमन गर्ने कार्य भइरहेको प्रशासकीय अधिकृत थारुले बताए ।

बजार अनुगमनमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको सहभागिता छ ।

चाडपर्व समेत नजिक आइरहेकाले बजारमा हुन सक्ने कालोबजारी, महंगी, कृत्रिम अभाव लगायतका गलत कार्य रोक्नका लागि बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.