दार्चुला । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलाले आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभर सञ्चालन गरेका सिँचाइ तथा तटबन्धका योजनामध्ये आधाभन्दा बढी योजना शैल्यशिखर नगरपालिकामा कार्यान्वयन भएका छन्।
कार्यालयका अनुसार जिल्लाभर सञ्चालन भएका ५०४ योजनामध्ये २४६ योजना अर्थात् करिब ४९ प्रतिशत योजना शैल्यशिखर नगरपालिकामा मात्रै कार्यान्वयन भएका हुन्। नगरपालिकामा यी योजनाका लागि १७ करोड ८९ लाख ५९ हजार रुपैयाँ बजेट खर्च भएको छ।
बाँकी आठ स्थानीय तहमा भने तुलनात्मक रूपमा कम योजना र बजेट कार्यान्वयन भएको देखिएको छ। जिल्लामा सबैभन्दा कम योजना व्यास गाउँपालिकामा सञ्चालन भएका छन्। व्यासमा १३ योजनाका लागि ८३ लाख ५० हजार रुपैयाँ खर्च भएको छ।
यस्तै, अपिहिमाल गाउँपालिकामा २१ योजनामा १ करोड ८९ लाख ५० हजार रुपैयाँ, नौगाड गाउँपालिकामा २३ योजनामा १ करोड ८७ लाख ५० हजार रुपैयाँ र दुहुँ गाउँपालिकामा २८ योजनामा २ करोड १० लाख ६७ हजार रुपैयाँ खर्च भएको छ।
लेकम गाउँपालिकामा ३१ योजनामा २ करोड ८ लाख ५७ हजार रुपैयाँ, महाकाली नगरपालिकामा ३२ योजनामा २ करोड ६९ लाख १७ हजार रुपैयाँ, मालिकार्जुन गाउँपालिकामा ४६ योजनामा ३ करोड २४ लाख २७ हजार रुपैयाँ तथा मार्मा गाउँपालिकामा ५८ योजनामा ४ करोड ६० लाख ८३ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।
तथ्यांकअनुसार शैल्यशिखर नगरपालिकाले जिल्लाका अन्य स्थानीय तहको तुलनामा सिँचाइ तथा तटबन्धका योजनामा निकै ठूलो हिस्सा ओगटेको छ। यसले जिल्लाभित्र योजनाको संख्या र बजेट वितरणमा स्थानीय तहअनुसार उल्लेख्य असमानता रहेको देखाएको छ।
