दार्चुला । दार्चुलामा पछिल्लो समय लागूऔषधसम्बन्धी अपराध बढ्दै गएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाको तीन आर्थिक वर्षको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म लागूऔषधसम्बन्धी ३५ वटा मुद्दा दर्ता भएका छन्।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ९, २०८१/८२ मा १२ र २०८२/८३ मा १४ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्। ती मुद्दामा क्रमशः १९, २३ र २५ जना पक्राउ परेका छन्। यसरी तीन वर्षमा लागूऔषधसम्बन्धी मुद्दामा कुल ६७ जना पक्राउ परेका हुन्।
चालू आर्थिक वर्षमा हालसम्म प्रहरीले लागूऔषधसम्बन्धी दुई वटा मुद्दा दर्ता गरी दुई जनालाई पक्राउ गरेको छ। उनीहरूबाट १३६ ग्राम चरेश र १५० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पुरुषको संख्या उल्लेख्य छ। तीन वर्षको अवधिमा पक्राउ परेका ६७ जनामध्ये ६२ जना पुरुष र पाँच जना महिला रहेका छन्।
पेशागत आधारमा पक्राउ पर्नेमा १० जना कृषि पेशामा संलग्न, तीन जना कर्मचारी, एक जना जनप्रतिनिधि र तीन जना विद्यार्थी रहेका छन्। बाँकी २५ जना अन्य पेशा तथा क्षेत्रसँग सम्बन्धित रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ।
उमेर समूहका आधारमा २१ देखि २५ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। यो उमेर समूहका ११ जना पक्राउ परेका छन्। त्यस्तै, २६ देखि ३० वर्ष उमेर समूहका १० जना, ३१ देखि ३५ वर्ष उमेर समूहका नौ जना, ४० देखि ४९ वर्ष उमेर समूहका दुई जना र ५० वर्षभन्दा माथिका दुई जना पक्राउ परेका छन्।
प्रहरीको तथ्यांकले विशेषगरी युवा उमेर समूहमा लागूऔषधसम्बन्धी संलग्नता बढिरहेको संकेत गरेको छ। लागूऔषध नियन्त्रणका लागि प्रहरीको सक्रियतासँगै परिवार, विद्यालय, स्थानीय तह र समुदायस्तरबाट समेत सचेतना तथा रोकथामका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
