दार्चुलामा घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा घरेलु हिंसासम्बन्धी आउने अधिकांश उजुरी मिलापत्रमै सीमित हुने गरेका छन्। चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै प्रहरीमा घरेलु हिंसाका १२ वटा उजुरी दर्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सहप्रवक्ता देवेन्द्रसिंह बुढाथोकीका अनुसार साउन महिनामा प्रहरीमा आएका घरेलु हिंसासम्बन्धी सबै उजुरी छलफल तथा मिलापत्रमार्फत समाधान गरिएको छ। उनका अनुसार घरेलु हिंसाका घटनामा मादक पदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारका सदस्यलाई खान–लाउन नदिने, घरायसी झैझगडा गर्नेलगायतका उजुरी आउने गरेका छन्।

प्रहरीमा उजुरी परेपछि दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराउने र समस्या समाधानका लागि मिलापत्र गराउने गरिएको सहप्रवक्ता बुढाथोकीले बताए। उनका अनुसार पीडित र आरोपित पक्षबीच छलफल गराएर पारिवारिक विवाद समाधान गर्ने प्रयास गरिँदै आएको छ।

पछिल्लो समय स्थानीय तहका न्यायिक समितिमा समेत घरेलु हिंसासम्बन्धी उजुरीको संख्या उल्लेख्य रहेको न्यायिक समिति संयोजकहरूले बताएका छन्। पारिवारिक विवाद, कुटपिट तथा घरेलु हिंसासम्बन्धी विषयमा पीडितहरू स्थानीय तहको न्यायिक समितिमा पुग्ने गरेका छन्।

घरेलु हिंसाका घटना बढ्दै गए पनि धेरैजसो उजुरी कानुनी प्रक्रियामा जानुभन्दा मिलापत्रमै टुंगिने गरेको देखिएको छ। यसले पीडितले न्याय पाउने प्रक्रियाका साथै घरेलु हिंसाका घटनाको दीर्घकालीन समाधानबारे समेत प्रश्न उठाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.