दार्चुलाको दुहुँ गाउँपालिका–३ मा रहेको ब्रहमदेव स्वास्थ्य चौकीमा वाइफाइसहित ई–हाजिरीको व्यवस्था गरिएको छ।
शुक्रबार गाउँपालिका उपाध्यक्ष शान्तिदेवी बमलगायतको टोलीले स्वास्थ्य चौकीमा पुगेर ई–हाजिरी प्रणाली तथा वाइफाइ सेवाको व्यवस्थापन गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज जोशी, कर्मचारी प्रशासन शाखा, सूचना प्रविधि शाखा र विपद् व्यवस्थापन शाखाका कर्मचारीहरूको टोलीले स्वास्थ्य चौकीमा ई–हाजिरीको व्यवस्थापन गरेको जनाइएको छ।
टोलीले स्वास्थ्य चौकीको सुपरिवेक्षणसमेत गरी सेवा प्रवाह तथा कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक सल्लाह र सुझाव प्रदान गरेको गाउँपालिकाले जनाएको छ।
ई–हाजिरी प्रणाली सञ्चालनमा आएसँगै स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीको उपस्थितिलाई व्यवस्थित तथा प्रभावकारी रूपमा अभिलेखीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
