साउनमा जिल्ला अस्पताल दार्चुलामा तीन हजार भन्दाबढीले लिए ओपीडी सेवा

दार्चुला । दार्चुला जिल्ला अस्पतालमा चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा ३ हजार ८३० जनाले बहिरंग (ओपीडी) सेवा लिएका छन् ।

जिल्ला अस्पताल दार्चुलाले सार्वजनिक गरेको साउन महिनाको सेवाको विवरणअनुसार ११४ जनाले अन्तरंग (आईपीडी) सेवा र ९३७ जनाले आकस्मिक सेवा लिएका छन् । अस्पतालमा २६० जना ज्येष्ठ नागरिकले समेत सेवा लिएका छन् ।

अस्पतालमा साउन महिनामा ८४९ जनाको एक्स–रे, ५७४ जनाको अल्ट्रासाउन्ड (यूएसजी) र २२४ जनाको ईसीजी गरिएको छ । प्रयोगशालातर्फ १ हजार ७१४ जनाले सेवा लिएका छन् भने ३ हजार ४५९ जनाले फार्मेसी सेवा लिएका छन् ।

त्यस्तै, दाँतसम्बन्धी समस्याका ७५, स्त्रीरोगसम्बन्धी ११९ र हाडजोर्नीसम्बन्धी १४१ बिरामीले सेवा लिएका छन् । साउनमा दुई जनाको शव परीक्षण (अटोप्सी) गरिएको अस्पतालको विवरणमा उल्लेख छ ।

प्रसूति सेवातर्फ ४३ जनाले सेवा लिएका छन् । जसमध्ये ४० जनाको सामान्य प्रसूति र तीन जनाको शल्यक्रियामार्फत प्रसूति गरिएको छ । शल्यक्रियातर्फ तीन वटा मेजर, १०१ वटा माइनर र १२ वटा इन्टरमिडिएट अपरेशन भएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ७७८ जनाले सेवा लिएका छन् भने ४५ जना बिरामीलाई अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको छ । अस्पतालमा साउन महिनामा दुई जनाको मृत्यु भएको विवरणमा उल्लेख छ ।

यसैगरी, गर्भवती जाँच (एएनसी) ५२, खोप सेवा २३ र पहिलो पटक आरओयूएसजी गराउने १३९ जनाले सेवा लिएका छन् । फिजियोथेरापी सेवातर्फ ६४ नयाँ र १३० पुराना बिरामीले सेवा लिएका छन् ।

अस्पतालको विवरणअनुसार साउन महिनामा एक्सपर्ट परीक्षणतर्फ ९२ जनाको परीक्षण गरिएकोमा आठ जनाको रिपोर्ट पोजेटिभ आएको छ । माइक्रोस्कोपीतर्फ १९ वटा परीक्षण गरिएकोमा कुनै पनि पोजेटिभ नदेखिएको अस्पतालले जनाएको छ ।

दार्चुला जिल्ला अस्पतालले जिल्लावासीलाई बहिरंग, आकस्मिक, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी, शल्यक्रिया, प्रसूति लगायतका स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.