दार्चुला । दार्चुलाका निर्माण व्यवसायी सर्पराज बडू चाँदनी नमस्कार–सरस्वती जेभी सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट निर्माण व्यवसायीका रूपमा सम्मानित हुनुभएको छ।
स्थानीय पूर्वाधार विकास विभागको २८औँ स्थापना दिवसको अवसरमा बडूलाई प्रशंसापत्र प्रदान गरिएको हो। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, धनगढीबाट सञ्चालित दार्चुलाको होपरीगाड मोटरेबल पुल निर्माण कार्य सम्झौता अवधिभन्दा अगावै सम्पन्न गरी पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको प्रशंसापत्रमा उल्लेख छ।
प्रशंसापत्रमा आगामी दिनमा समेत उत्कृष्ट कार्यसम्पादनको अपेक्षासहित बडूलाई उत्तरोत्तर प्रगतिको शुभकामना दिइएको छ। स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साह, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालले संयुक्त रूपमा प्रशंसापत्र प्रदान गर्नुभएको हो।
सम्मानपछि निर्माण व्यवसायी बडूले आफूलाई सम्मानित गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत गुणस्तरीय र समयमै निर्माण कार्य सम्पन्न गर्न प्रतिबद्ध रहने बताउनुभएको छ।
स्थानीय पूर्वाधार विकास विभागले समयमै तथा गुणस्तरीय रूपमा आयोजना सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरेको जनाएको छ। पुल तथा सडकजस्ता पूर्वाधार निर्माणमा समयमै काम सम्पन्न हुनु स्थानीय आवागमन र विकासका लागि महत्वपूर्ण मानिन्छ।

