दार्चुला । रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा भदौ १० गते आएको अविरल वर्षा र बाढीका कारण भएको जनधनको क्षतिप्रति मालिकार्जुन गाउँपालिकाले दु:ख व्यक्त गर्दै अवैध रूपमा चन्दा तथा राहत रकम संकलन हुन सक्ने भन्दै सचेत गराएको छ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै विपद्को विषम परिस्थितिमा केही व्यक्ति वा समूहले चन्दा तथा राहत रकम संकलन गर्न सक्ने सम्भावना रहेकाले त्यस्ता गतिविधिबाट सचेत रहन गाउँपालिकावासीलाई आग्रह गरेको हो।
गाउँपालिकाले सम्पूर्ण मालिकार्जुनवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई त्यस्ता कार्यमा सहभागी नहुन र अरूलाई पनि त्यस्ता गतिविधिबाट जोगाउन अनुरोध गरेको छ।
विपद् प्रभावितलाई राहत सहयोग गर्न इच्छुक मालिकार्जुनवासीले नेपाल सरकारको सूचनामा उल्लेख गरिएका आधिकारिक बैंक खाता तथा माध्यममार्फत मात्र सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ। गाउँपालिकाले सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकका बैंक खाता तथा क्यूआर कोडसमेत सार्वजनिक गरेको छ।

