

दार्चुला । महाकाली नगरपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन तथा सम्पादन गरिएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।
नगर प्रमुखको अध्यक्षतामा भदौ १५ र १६ गते आयोजित गोष्ठीमा नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाबाट सञ्चालित विभिन्न स्वास्थ्य कार्यक्रम तथा सूचकहरूको समीक्षा गरिएको थियो। कार्यक्रममा कार्यक्रमगत उपलब्धि, सेवा प्रवाहको अवस्था तथा आगामी वर्षमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
गोष्ठीमार्फत आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा थप प्रभावकारी योजना तथा रणनीति तय गरिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने स्वास्थ्य संस्थाहरूलाई बधाई तथा सम्मान व्यक्त गरिएको थियो। साथै, नगरपालिकाका सम्पूर्ण स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने सम्पूर्ण सरोकारवालाप्रति नगरपालिकाले आभार व्यक्त गरेको छ।
