रोजगारीले रसुवा पुर्‍यायो देब सिंहलाई, बाढीपछि सम्पर्कविहीन छोराको बाटो हेर्दै वृद्ध आमाबुवा

ललित सिह सामन्त ,दार्चुला । रोजगारीको सिलसिलामा घरदेखि टाढा पुगेका दार्चुलाको लेकम गाउँपालिका–४ का देब सिंह धामीले भदौ ९ गते साँझ परिवारसँग फोनमा कुरा गरेका थिए। त्यो फोनवार्ता नै परिवारका लागि उनको अन्तिम आवाज बन्न पुग्यो भन्ने कल्पना उनका वृद्ध आमाबुवाले सायदै गरेका थिए।

भदौ ९ गते बेलुका करिब ८ बजेतिर देब सिंहले घरमा फोन गरे । फोनमा उनले आमाबुवासँग गाउँघरको हालखबर सोधे । गाउँमा गौरा पर्वको माहोल कस्तो छ, घरपरिवारमा के हुँदैछ भन्ने चासो राखे।
आमाबुवाले पनि गाउँघरमा सबै ठीकठाक रहेको सुनाउँदै यसपालि दशैँमा घर आउन आग्रह गरे । ‘छुट्टी मिल्यो भने आउँछु’—देब सिंहले जवाफ दिएका थिए ।

फोनवार्ताका क्रममा गाउँघरको खेतबारीको कुरा पनि भयो । पहाडतिर मकै पाक्ने बेला भएकाले जंगली जनावर र बाँदरले दु:ख दिने गरेको कुरा उनले आमासँग सोधे खेतबारीतिर जाँदा बाटो चिप्लो हुन सक्ने भन्दै आमाबुवालाई सावधानी अपनाउन पनि सम्झाए ।
उनले बुवालाई पनि अब धेरै पहाडतिर बस्न नहुने, आफूसँगै आउनुपर्ने बताए। तर बुवा बलभद्र धामीले तत्काल गाउँघर छाड्न नसकिने बताए। बरु समय मिलाएर आफूहरू काठमाडौंमा रहेका , बुहारी र नातिहरूलाई भेट्न आउने बताएका थिए।
त्यो सामान्यजस्तो लाग्ने कुराकानीपछि देब सिंहको फोन फेरि बजेन्।रसुवा बाढीपछि सम्पर्कविहीन देब सिह धामीको परिवार अहिले काठमाडौंको काडाघारीमा कोठा भाडामा लिएर बस्दै आएको छ।

श्रीमती र दुई छोरासहितको परिवार काठमाडौंमा भए पनि देब सिंह धामी रोजगारीका कारण घरबाट टाढा थिए । तीन सन्तानमध्ये कान्छा छोरा रहेका देब सिंह परिवारमा निकै मिलनसार र चलाख स्वभावका थिए ।
संकटकालको समयदेखि नेपाली सेनामा सेवा सुरु गरेका देब सिंहले आफ्नो करिअरमा निरन्तर अघि बढ्दै २०८२ चैत २६ गते सहायक सेनानीमा बढुवा भएका थिए। ढुवासँगै उनलाई रसुवास्थित श्रीनाथ गणमा खटाइएको थियो।

परिवारका लागि त्यो गर्वको क्षण थियो। गाउँको सामान्य परिवारबाट सेनामा प्रवेश गरेका छोरा अधिकृत बनेर जिम्मेवारी सम्हालिरहेको खबरले आमाबुवाको खुसीको सीमा थिएन। तर त्यही जिम्मेवारी निर्वाह गर्ने क्रममा उनी अहिले परिवारको सम्पर्कबाट टाढा छन्।

भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको खबर फैलियो । तर दार्चुलाको गाउँमा रहेका देब सिंहका आमाबुवाले बाढीको भयावहता र त्यसले निम्त्याएको क्षतिबारे दिउँसो मात्र थाहा पाए । त्यसपछि उनीहरूको मनमा एउटै प्रश्न उठ्यो—‘छोरा कहाँ होला?’

सधैँ बेलुका फोन गर्ने कान्छो छोरा त्यस दिनदेखि सम्पर्कमा आएनन्। एक दिन, दुई दिन गर्दै दिनहरू बित्दै गए। तर देब सिंहको फोन आएन। आँखाबाट आँसु झार्दै उनकी आमाले भनिन्, ‘बाढी आएको दिनदेखि मेरो छोराले फोन गरेको छैन।

मेरो छोरा कहाँ होला सर?’ छोराको अवस्था थाहा पाउन नसक्दाको पीडा उनको आवाजमा स्पष्ट सुनिन्थ्यो।उनले पटक–पटक फोनको आशा गरिरहेकी छन्। तर प्रत्येक साँझ फोन नबज्दा उनको आशा झनै कमजोर बन्दै गएको छ। आमासँग कुरा गरेपछि उनका बुवा बलभद्र धामी फोनमा आए।

वृद्ध बुवाको आवाजमा चिन्ता, पीडा र आशा एकैपटक मिसिएको थियो। ‘सर नमस्कार, को बोल्नुभयो? कहाँबाट फोन गर्नुभयो? मेरो छोराको बारेमा शुभ खबर भन्न फोन गर्नुभएको हो?’–उनले सोधे । जब उनलाई देब सिंह सम्पर्कविहीन रहेको विषयमा जानकारी लिन फोन गरिएको बताइयो, केहीबेर उनी मौनजस्तै भए।

त्यसपछि उनले भने, ‘छोराले आठ दिनदेखि फोन गरेको छैन । मेरो भान्सामा आगो बलेको छैन सर गाउँघरका मान्छेहरू आउँछन्, सम्झाउँछन्। तर मेरो र उसको आमाको मनले मानेको छैन।’उनको स्वरमा एउटा बुवाको छटपटी थियो। ‘के तपाईंले मेरो छोरालाई देख्नुभयो?’—बलभद्रले फेरि प्रश्न गरे । यो प्रश्नको उत्तर उनी आफैँले पनि खोजिरहेका छन्।

रसुवामा गएको बाढीपछि बेपत्ता बनेका छोराको खबर कहिले आउला भन्ने प्रतीक्षामा उनी दिनरात काटिरहेका छन्। बुवा बलभद्रलाई छोराले केही दिनअघि भनेको अर्को कुरा पनि अहिले झन् गहिरो गरी सम्झना आउँछ।

देब सिंहले बुवालाई भनेका थिए, ‘आजभोलि मलाई सपना पनि राम्रो आउँदैन, के भएको हो बुवा?’त्यतिबेला सामान्यजस्तो लागेको छोराको त्यो भनाइ अहिले बुवाको मनमा बारम्बार घुमिरहन्छ।‘छोराले त्यस्तो कुरा किन भन्यो होला?’—बलभद्रको मनमा यही प्रश्नले सताइरहेको छ। बाढीपछि आठ दिनसम्म छोरासँग सम्पर्क नहुँदा हरेक फोनको घण्टीले उनीहरूलाई झस्काउँछ। फोन बज्दा ‘सायद छोराको खबर आयो कि’ भन्ने आशा जाग्छ। तर फोन अर्कैको हुँदा फेरि निराशा थपिन्छ।

गाउँमा वृद्ध आमाबुवा, काठमाडौंमा परिवारको प्रतीक्षामा छन् । देब सिंहका आमाबुवा दार्चुलामै छन्। तर श्रीमती र दुई छोरा काठमाडौंमा छन्। एकातिर वृद्ध आमाबुवा छोराको खबर पर्खिरहेका छन् भने अर्कोतिर श्रीमती र छोरा आफ्ना श्रीमान् तथा बुवाको अवस्थाबारे अनिश्चिततामा छन्। दशैँमा घर आउने कुरा गरेका देब सिंहले अहिले सम्म फोन नगर्दा परिवार कुनै बेला भक्काने गरेको छ ।

भदौ ९ गते राति आमाबुवासँग भएको अन्तिम कुराकानीमा उनले गाउँघरको अवस्था सोधे, मकैबारीको चिन्ता गरे, आमाबुवालाई बाटोमा सावधानी अपनाउन सम्झाए र दशैँमा घर आउने सम्भावनाबारे कुरा गरे। तर भोलिपल्ट भोटेकोशी उर्लियो। रोजगारीले उनलाई रसुवा पुर्‍यायो, तर भोटेकोशीको बाढीले घर फर्कने बाटो नै रोकिदियो।आज दार्चुलाको लेकममा रहेको उनको घरमा वृद्ध आमाबुवाको आँखाले बाटो हेरिरहेको छ।

परिवारले सम्पर्कविहीन देब सिंह धामीको अवस्था पत्ता लगाई यथाशीघ्र उद्धार गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेको छ। लामो समयदेखि छोराको कुनै खबर नआएपछि वृद्ध आमाबुवासहित परिवारजन चिन्तामा छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.