दार्चुला। दार्चुलाको सामुदायिक रेडियो लिपुलेक छैटौँ वर्षमा प्रवेश गरेको छ। ‘समृद्धि नेपाल निर्माणका लागि सञ्चारमा हाम्रो आवाज’ भन्ने मूल नाराका साथ रेडियोले आफ्नो प्रसारण यात्राको पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको हो।
२०७८ साल असोज १ गतेदेखि शैल्यशिखर नगरपालिका–६ पनेबाँजबाट १०० वाट क्षमतामा ९९.६ मेगाहर्जमा प्रसारण सुरु गरेको रेडियोले सत्यतथ्य समाचार, सूचना, विज्ञापन तथा गीत–संगीतलगायतका कार्यक्रम नियमित रूपमा प्रसारण गर्दै आएको छ।
अद्वितीय राष्ट्रिय विकास संगठनद्वारा सञ्चालित रेडियो लिपुलेक हाल दैनिक १८ घण्टा प्रसारण भइरहेको छ। रेडियोको प्रसारण दार्चुला, बैतडी, डडेल्धुरा तथा बझाङका केही ग्रामीण क्षेत्र हुँदै भारतको उत्तराखण्डस्थित पिथौरागढसम्म सुन्न सकिन्छ।
सूचनाको पहुँचबाट टाढा रहेका समुदायलाई मूलधारमा ल्याउने उद्देश्यले स्थापना भएको रेडियोले समाचारमूलक, जनचेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएको छ। कतिपय समाचार राष्ट्रिय स्तरका न्यूज नेटवर्कसँगको सहकार्यमा समेत प्रसारण गरिँदै आएको रेडियोले जनाएको छ।
रेडियोले मानव अधिकार, सामाजिक न्याय, सुशासन, शान्ति, कला तथा संस्कृति संरक्षण, पर्यटन विकास, शिक्षा, स्वास्थ्य, वातावरण र वैज्ञानिक कृषि प्रणालीलगायतका विषयमा विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ।
छैटौँ वार्षिकोत्सवका अवसरमा रेडियोका अध्यक्ष गणेशसिंह धामीले रेडियोको गौरवमय यात्रामा साथ दिने सम्पूर्ण श्रोता, विज्ञापनदाता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले आगामी दिनमा पनि श्रोताको चाहना र आवश्यकताअनुसार रेडियोलाई अघि बढाउने प्रतिबद्धता जनाए।
अध्यक्ष धामीले रेडियो कुनै व्यक्ति वा राजनीतिक दलको पक्षपोषणमा नभई आम नागरिकको साझा आवाजका रूपमा अघि बढिरहेको बताए। यद्यपि, स्थानीय तहबाट अपेक्षित सहयोग नपाउँदा रेडियो सञ्चालनमा समस्या भइरहेको र व्यक्तिगत आम्दानीबाटै कर्मचारीको तलब भुक्तानी गर्नुपर्ने अवस्था रहेको उनले गुनासो गरे।
स्टेसन म्यानेजर गोविन्दसिंह धामीले सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, शैक्षिक, खेलकुद, कृषि तथा साहित्यलगायतका विषयमा कार्यक्रम उत्पादन गरी समाजलाई सूचित गराउने प्रयास भइरहेको जानकारी दिए। मनोरञ्जनात्मक कार्यक्रममार्फत श्रोताको रुचि र चाहना पूरा गर्न पनि रेडियो निरन्तर सक्रिय रहेको उनले बताए।
