कांग्रेस दार्चुलाद्धारा १५औँ महाधिवेशनमा उत्साहका साथ सहभागी हुन आह्वान

दार्चुला । नेपाली कांग्रेस दार्चुलाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनमा सक्रिय सहभागिता जनाउन जिल्लाका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकहरूलाई आह्वान गरेको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव पुलेन्द्र बहादुर कार्कीले जारी गरेको आह्वानपत्रमा जिल्लाभित्रका ६१ वटै वडामा असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते नगर/पालिका अधिवेशन तथा असोज १० गते प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने उल्लेख छ।

आह्वानपत्रमा नेपालको संविधान, नेपाली कांग्रेसको विधान तथा प्रचलित कानुनबमोजिम हुने महाधिवेशन प्रक्रियामा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन आग्रह गरिएको छ। कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका रहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले पनि यही अवधिका लागि तहगत अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।

कांग्रेस दार्चुलाले पार्टीको गौरवपूर्ण इतिहासको रक्षा गर्दै वर्तमानमा कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउने अभियानमा अधिवेशन महत्वपूर्ण हुने जनाएको छ।

वडा तहदेखि पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला अधिवेशनको तयारीमा जुटेका सबै पार्टीका साथीहरूप्रति उच्च सम्मान व्यक्त गर्दै एकताका साथ अधिवेशनमा सहभागी हुन आह्वान गरिएको छ।

त्यस्तै, विगतका अभ्यास र अनुभवबाट शिक्षा लिँदै पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई थप रचनात्मक, मितव्ययी र जिम्मेवारीपूर्ण बनाउने स्वस्थ प्रतिस्पर्धाको पर्वका रूपमा अधिवेशनलाई अघि बढाउन आग्रह गरिएको छ।

केन्द्रीय तहमा भने १५औँ महाधिवेशनको प्रक्रियालाई लिएर कांग्रेसभित्र अलग–अलग धारणा र कार्यतालिका सार्वजनिक भएका छन्। गगन थापा नेतृत्वको कार्यसमितिले असोज १६–१९ मा महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ भने शेरबहादुर देउवा पक्षले छुट्टै समयतालिका सार्वजनिक गरेको छ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.