गत भदौ १० गते आएको भोटेकोसी बाढीका कारण बेपत्ता भएकी इन्जिनियर ऋचा निरौलाको लोकसेवा आयोगमा सफल भएको रिजल्ट सार्वजनिक भएको छ। लोकसेवा आयोगको परीक्षामा पहिलो प्रयासमै उनी सफल भएकी हुन्।
लोकसेवाले बिहीबार (असोज ८ गते) सार्वजनिक गरेको लिखित परीक्षाको नतिजामा उनी क्रम संख्या १२ मा नाम निकाल्न सफल भएकी हुन्।
मोरङको पथरी शनिश्चरे–७ स्थायी घर भई हाल विराटनगर–३ मा बस्दै आएको निरौला परिवार २८ दिनदेखि बेपत्ता भएकी छोरीको पीडाले ऋचाको सफलतामा खुसी साट्न सकेको छैन।
विगत ६ महिनादेखि २१६ मेगावाटको अपर त्रिशूली १ जलविद्युत् आयोजनाको प्लानिङ सेक्सनमा कार्यरत इन्जिनियर ऋचा भदौ १० गते आएको बाढीपछि बेपत्ता छिन्। बाढी आएको लामो समय बितिसक्दा पनि कुनै पनि सरकारी निकायले उनको अवस्थाबारे आधिकारिक जानकारी दिन सकेका छैनन्।
दिदी रक्षा निरौलाका अनुसार ऋचाले आफू फ्रेसर भएकाले अनुभवका लागि मात्रै ट्रायलका रूपमा लोकसेवाको परीक्षा दिन लागेको बताएकी थिईन्। तर, पहिलो प्रयासमै सव–इन्जिनियर पदमा नाम निकालेर ऋचाले आफ्नो उत्कृष्ट क्षमता प्रमाणित गरेकी छन्।
सामाजिक सञ्जालमार्फत बहिनीको सफलता सार्वजनिक गर्दै दिदी रक्षाले लेखेकी छन्, ‘तिमीले त ‘म फ्रेसर हुँ, सक्दिनँ होला, ट्रायलका लागि मात्र परीक्षा दिन्छु’ भनेकी थियौ। तर पहिलो पटकमै गरेर देखायौ। आज तिमी हामीसँग भएको भए कति खुसी हुन्थ्यौ होला! आशा छ, तिमी सुरक्षित छौ र चाँडै फर्केर आउनेछौ।’
ऋचाका बुवा लीलाप्रसाद निरौलाले जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीहरूको उद्धार तथा खोजीमा सरकारले चरम लापरवाही र ढिलाइ गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। बेपत्ता भएकाहरूको स्थिति स्पष्ट पार्न नसकेकोमा परिवारले सरकारप्रति असन्तोष जनाएको छ।
अहिले ऋचाको लोकसेवामा प्राप्त गरेको सफलतामा परिवार तथा आफन्तजनले गर्व त गर्दै छन् तर ऋचा कहाँ छिन् अत्तोपत्तो नहुँदा परिवार ठुलो पीडामा छ।
