दार्चुला । अपिहिमाल गाउँपालिकाबाटै करदाता सेवा सञ्चालन हुने भएको छ। करदाता सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा आन्तरिक राजस्व कार्यालय डडेल्धुरा र अपिहिमाल गाउँपालिकाबीच हस्ताक्षर सम्पन्न भएको हो।
सम्झौतासँगै गाउँपालिकामै करदाता सेवाहरू उपलब्ध हुने भएका छन्। यसबाट अपिहिमाल गाउँपालिकाका नागरिक तथा व्यवसायीलाई करसम्बन्धी सेवा लिन टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
स्थानीयस्तरमै करसम्बन्धी सेवा उपलब्ध भएपछि करदाता दर्ता, करसम्बन्धी जानकारी तथा अन्य आवश्यक सेवाहरू लिन सहज हुने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख एवं गाउँपालिकाका सूचना अधिकारी मदनराज जोशीले जानकारी दिए । गाउँपालिकामै सेवा सञ्चालन हुँदा समय र खर्चको बचत हुनुका साथै कर प्रशासनसँग नागरिकको पहुँचसमेत थप सहज हुने उनले विश्वास व्यक्त गरेका छन् ।
आन्तरिक राजस्व कार्यालय डडेल्धुरा र अपिहिमाल गाउँपालिकाबीच भएको उक्त सम्झौतालाई स्थानीयस्तरमा कर सेवा विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
यसअघि (हिजो) जिल्लाको नौगाड गाउँपालिका र आन्तरिक राजस्व कार्यालय डडेल्धुराबीच करदाता सेवा सञ्चालनका लागि सम्झौता पत्रमा दुबैपक्षले हस्ताक्षर गरेका थिए ।

