काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक बाहिरबाट हेरेजस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनउभार सडकमा आउनसक्ने चेतावनीसहितको विश्लेषण गरेका छन् ।
सोमबार काठमाडौंमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले मुलुकमा दुई तिहाईको सरकार चलिरहेको कारण सबै ठिकठाक देखिएपनि जनतामा भित्रभित्रै असन्तुष्टि र आक्रोश चुलिँदै गएको विश्लेषण पार्टीको रहेको बताए ।
‘अहिले मुलुक बाहिरबाट हेर्दैगर्दा शान्त छ । चुनाव भएको छ । सरकार छ, दुई तिहाईको बहुमत छ । प्रतिपक्षी दलहरू पनि छन् । सबै ठिक्क देखिन्छ । तर यस्तो होइन । अस्ति भर्खरै सुनसरीको घटनाले के देखायो ? सानो एउटा घटनाले पनि एकाएक आगो बल्न सक्ने अवस्था छ । किनकी नेपाल समाज यति बेचैन छ अहिले, यति ठूलो फ्रस्टेसन छ, यति ठूलो असन्तुष्टि छ,’ सभापति थापाले भने ।
भर्खरै सुनसरी र सिराहा लगायत पूर्वी तराईमा देखिएको सम्प्रदायिक तनावको घटनाको उदाहरण दिँदै जनुसुकै बेला आगो दन्किन सक्ने चेतावनी पनि उनले दिए ।
चुनाव भयो नयाँ पार्टी आएको छ, सबै ठिकठाक पनि देखिएको छ । तर यो असन्तुष्टिहरूको कारणहरू सम्बोधन नभएको हुनाले कुनै पनि बेला जनउभार आउनसक्छ । यो नेपाली कांग्रेसको विश्लेषण हो । र यो बेलामा रेस्पोन्स कसरी गरिएको छ कि समस्या एकातिर छ, सरकार अर्कै बाटोमा छ,’ उनले भने ।
उनले नेपाली समाजमा विद्यमान असन्तोष सम्बोधनतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने समेत बताए । उनले अहिले पनि रोजगारीको अवसरका लागि मुलुकबाट बाहिरिने नागरिक घट्न नसकेकोप्रति चिन्ता समेत व्यक्त गरे ।
‘अहिले पनि प्रत्येक दिन २ हजार, २५ सय मानिस रोजगारीका लागि देश छोडेर बाहिर जान्छन् । यो अहिलेको सरकारले गरेको होइन है । हाम्रो पाला विगत दश वर्षदेखि यही नै भइरेहेको थियो,’ उनले भने, ‘ती मान्छेहरू बाहिर गएर पैसा कमाएर नेपाल पठाउँछन् । पैसा बैंकमा यति धेरै थुप्रिएको छ कि नेपालको जीवनमा आजसम्म यति पैसा कहिले पनि थिएन । हामीसँग त्यतिधेरै पैसा छ अहिले ।’
