दार्चुला । नौगाड गाउँपालिका र महाकाली नगरपालिकाबीच अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ। नौगाड गाउँपालिका–२ दल्लेखमा सम्पन्न बैठकले दुई स्थानीय तहबीचको सडक स्तरोन्नतिलगायतका विषयमा महत्वपूर्ण निर्णय गरेको छ।
बैठकमा महाकाली नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको थियो। यस्तै, नौगाड गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर २ का अध्यक्ष, योजना शाखा प्रमुख, प्राविधिक शाखा प्रमुखलगायत कर्मचारीहरूको सहभागिता थियो।
बैठकले खलङ्गा–खार–देथला सडकखण्डअन्तर्गत महाकाली नगरपालिका–२ को मैखोलीदेखि दल्लेखसम्मको सडक स्तरोन्नति गर्ने निर्णय गरेको छ।
सडक स्तरोन्नतिका लागि लाग्ने कुल लागतको ५०/५० प्रतिशत रकम दुवै स्थानीय तहले व्यहोर्ने सहमति भएको छ। साथै, महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको सिमानामा सीमा बोर्ड राख्ने निर्णयसमेत गरिएको छ।
दुवै स्थानीय तहबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै पूर्वाधार विकास तथा स्थानीयस्तरका साझा विषयमा सहकार्य गर्ने उद्देश्यले बैठक आयोजना गरिएको जनाइएको छ।
