दार्चुलामा पुराना दललाई रास्वपाको चुनौती, जिल्लामा ‘घण्टी’ को आवाज सुनाउने प्रयास

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दार्चुलाका ९ वटै स्थानीय तहमा ‘हामी आउँदै छौँ’ अभियान सम्पन्न गरेसँगै जिल्लामा आफ्नो सङ्गठन विस्तार र नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने प्रयास गरेको छ।

जिल्लाका सबै स्थानीय तहमा पुगेर नागरिकका गुनासा, समस्या र सुझाव सङ्कलन गर्ने अभियानले परम्परागत राजनीतिक दलहरूका लागि रास्वपाको सक्रियतालाई चासोको विषय बनाएको छ।

पार्टी सङ्गठन सुदृढीकरण तथा नागरिकका समस्या र अपेक्षाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले सञ्चालन गरिएको अभियान सोमबार व्याँस गाउँपालिकामा कार्यक्रम आयोजना गरेसँगै सम्पन्न भएको रास्वपा दार्चुलाका सचिव राजेन्द्र पन्तले जानकारी दिनुभयो।

पन्तका अनुसार बिहीबार नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट सुरु भएको अभियान शुक्रबार अपिहिमाल र मार्मा गाउँपालिका, शनिबार लेकम र मालिकार्जुन गाउँपालिका तथा आइतबार महाकाली नगरपालिका र दुहुँ गाउँपालिकामा सञ्चालन गरिएको थियो। सोमबार व्याँस गाउँपालिकामा कार्यक्रम आयोजना गरी अभियान समापन गरिएको हो।

अभियानका क्रममा रास्वपाका सांसद जगतप्रसाद जोशी, सुदूरपश्चिम प्रदेश समिति कोषाध्यक्ष गणेश बोहरा, प्रदेश समिति सदस्य सीता कुमारी सुनार तथा रास्वपा दार्चुलाका जिल्ला सभापति राजेश सिंह सामन्तलगायत नेताहरू सहभागी भएका थिए।

जिल्लाका सबै स्थानीय तहमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्नु, उनीहरूका गुनासा र सुझाव सुन्नु तथा पार्टीलाई स्थानीय तहसम्म सुदृढ बनाउनु अभियानको मुख्य उद्देश्य रहेको रास्वपाले जनाएको छ।

दार्चुलाका सबै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरेर रास्वपाले आफ्नो राजनीतिक उपस्थिति विस्तार गर्ने प्रयास गरेको छ। यद्यपि, अभियानका क्रममा सङ्कलित सुझावलाई पार्टीले कसरी सम्बोधन गर्छ, सङ्गठनलाई कति प्रभावकारी रूपमा विस्तार गर्छ र नागरिकका अपेक्षालाई व्यवहारमा कसरी उतार्छ भन्ने कुराले जिल्लामा उसको आगामी राजनीतिक प्रभाव निर्धारण गर्नेछ।

अभियान सम्पन्न भएसँगै दार्चुलामा रास्वपाले पुराना राजनीतिक दलसामु चुनौती प्रस्तुत गर्न खोजेको देखिएको छ। तर, यसको वास्तविक प्रभाव भने आगामी दिनमा पार्टीको सङ्गठनात्मक सक्रियता, जनसमर्थन र राजनीतिक गतिविधिले देखाउनेछ।

जिल्लामा नेपाली कांग्रेसभित्रको विभाजन र नेकपा एमालेका प्रभावशाली नेताले पार्टी परित्याग गर्नुलाई पनि दार्चुलामा रास्वपाका लागि राजनीतिक गतिविधि विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ। परम्परागत राजनीतिक दलभित्र देखिएका आन्तरिक असन्तुष्टि र राजनीतिक फेरबदलले रास्वपालाई आफ्नो सङ्गठन विस्तार गर्न केही सहज वातावरण सिर्जना गरेको विश्लेषण गर्न सकिन्छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.