व्याँसको मडगाउँमा जमिन धसिएको क्षेत्रको सांसद ठगुन्नाद्वारा स्थलगत निरीक्षण

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–४, मडगाउँमा वर्षापछि जमिन धसिँदा झण्डै तीन दर्जन घरमा क्षति पुगेको छ। केही घर भत्किएका छन् भने धेरै घरमा गम्भीर दरार परेपछि १२ परिवार विस्थापित भएका छन्। विस्थापित परिवार अहिले त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य छन्।

प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्नासहित जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरूको टोलीले बिहीबार स्थलगत निरीक्षण गरेको छ। निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल र गाउँपालिका अध्यक्ष मंगलसिंह धामीसहितका अधिकारीहरू सहभागी थिए।

स्थलगत निरीक्षणपछि प्रभावित परिवारलाई राहत उपलब्ध गराउने, सुरक्षित बसोबासको व्यवस्था गर्ने तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरिएको जनाइएको छ।

दशैँ–तिहारपछि भूगर्भविद्को टोलीले प्रभावित क्षेत्रमा पुगेर जमिनको अवस्थाबारे अध्ययन गर्ने तयारी गरिएको छ। वर्षाका कारण घर चर्किएपछि स्थानीयले आवास गुमाउनुका साथै आफ्नो सुरक्षित भविष्यबारे समेत चिन्ता व्यक्त गरेका छन्।

वडाध्यक्ष झुनसिंह बिष्टका अनुसार घरहरूमा गम्भीर क्षति पुगेपछि स्थानीय बासिन्दा जोखिम र अनिश्चिततामा बाँच्न बाध्य भएका छन्। प्रभावित परिवारलाई सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।

जमिन धसिएपछि मडगाउँमा जोखिमपूर्ण अवस्था सिर्जना भएकाले प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न आवश्यक पहल गरिने प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्नाले बताउनुभयो।

स्थानीयले जोखिममा रहेका घरहरूको अवस्था पहिचान गरी आवश्यक सुरक्षा उपाय अपनाउन तथा विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.