दार्चुला । चारैतिर दसैँको रौनकता छाएका बेला दार्चुलाका किसान भने खेतीपाती र पशुचौपायाका लागि घाँसको जोहो गर्न व्यस्त छन्।
रोजगारी तथा अध्ययनका लागि बाहिर गएकाहरू घर फर्किन थालेका छन् भने बजारमा किनमेल र गाउँघरमा चाडपर्वको तयारी चलिरहेको छ। तर, किसानलाई भने दशैँको रमझमसँगै आगामी खेतीको तयारी र पशुचौपायाका लागि वर्षभरि पुग्ने घाँसको व्यवस्था गर्नुपर्ने चटारो छ।
यस वर्षको बर्खे खेती भित्र्याइसकेपछि किसानहरू हिउँदे बाली लगाउने तयारीमा जुटेका छन्। खेतबारी जोतेर आगामी खेतीका लागि जमिन तयार पार्ने र वनपाखाबाट खर काटेर घरमा थन्क्याउने कामले उनीहरूको व्यस्तता बढाएको छ।
विशेषगरी ग्रामीण भेगका महिलाहरू वनपाखामा पुगेर खर काट्ने, बोकेर घर ल्याउने र सुरक्षित रूपमा भण्डारण गर्ने काममा व्यस्त देखिन्छन्। पशुचौपायाका लागि आवश्यक घाँसको जोहो गर्नुपर्ने भएकाले दशैँको समयमा पनि उनीहरूलाई कृषि तथा पशुपालनसम्बन्धी कामबाट फुर्सद मिलेको छैन।
स्थानीयका अनुसार यस वर्ष दशैँ ढिलो परेकाले असोजको सुरुदेखि नै खर काट्न थालिएको भए पनि सबै खर थन्क्याउने काम अझै सकिएको छैन। चाडपर्व मनाउने समय भए पनि कृषि तथा पशुपालनसँग जोडिएका काम समयमै सम्पन्न गर्नुपर्ने बाध्यता किसानलाई छ।
“दशैँको रमाइलो एक हप्तामात्र हो। काममा ध्यान नदिए वर्षभरि दु:ख पाइन्छ,” स्थानीय किसानहरू भन्छन्।
दार्चुलाका कतिपय ठाउँमा हिउँदे बाली लगाउन खेतबारी तयार पार्ने कामसमेत सुरु भइसकेको छ। खेत जोत्ने, जमिन तयार पार्ने र खर काटेर थन्क्याउने काम एकै समयमा परेकाले असोज र कात्तिक किसानका लागि व्यस्त महिना बन्ने गरेका छन्।
यता, दशैँका अवसरमा दार्चुलाका विभिन्न शक्तिपीठमा नवरात्रिभर विशेष पूजाआजा हुने गरेको छ। चाडपर्व मनाउन बाहिर गएकाहरू गाउँ फर्किएसँगै ग्रामीण क्षेत्रमा दशैँको रौनक बढेको छ। घर फर्किएका कतिपय व्यक्ति परिवारसँग चाडपर्व मनाउनुका साथै खेत जोत्न र खर काट्ने काममा समेत सघाइरहेका छन्।
यसरी दार्चुलाका किसानका लागि दशैँ चाडपर्व मनाउने अवसर मात्र नभई आगामी खेतीको तयारी गर्ने र पशुचौपायाका लागि वर्षभरि पुग्ने घाँसको जोहो गर्ने महत्त्वपूर्ण समयसमेत बनेको छ। चाडपर्वको खुसीसँगै कृषि कर्मलाई पनि निरन्तरता दिँदै किसानहरू आफ्नो दैनिकीमा जुटिरहेका छन्।
