दार्चुला । नेकपा (एमाले) दार्चुलाले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै तत्काल सच्याउन माग गर्ने निर्णय गरेको छ।
पार्टीको जिल्ला कमिटी सचिवालय बैठकले बजेट पार्टीको नीति तथा सिफारिसअनुसार नआएको र जनताका आधारभूत समस्या समाधानमा केन्द्रित नभएको निष्कर्ष निकाल्दै बजेट पुनरावलोकन गर्न माग गर्ने निर्णय गरेको हो।
बैठकले मुख्यमन्त्री खगराज भट्ट, एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल, अर्थमन्त्री चक्रबहादुर मल्लसहित सिंगो प्रदेश मन्त्रिपरिषद् तथा पार्टी प्रदेश कमिटीसँग बजेट सच्याउन माग गर्ने निर्णय गरेको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घतीले जानकारी दिए ।
बैठकले आसन्न स्थानीय तह निर्वाचनको तयारीका लागि जिल्लाको वस्तुस्थिति विश्लेषण तथा अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदललाई दुई महिनाभित्र अध्ययन सम्पन्न गरी जिल्ला कमिटी बैठकमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
एमालेका पूर्व केन्द्रीय कमिटी सदस्य हरदेव जोशीको संयोजकत्वमा गठित कार्यदलमा प्रदेश कमिटी सचिवालय सदस्यहरू देव सिंह महर, नगेन्द्र तिंकरी र मोहन सिंह धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती तथा पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी सदस्य रहनुभएको छ। खडक बडाललाई कार्यदल सचिवको जिम्मेवारी दिइएको छ।
