अघिल्ला दुवै हारको बदला लिने धुनमा कर्णाली, विगतकै सफलता दोहोर्‍याउने सुदूरपश्चिमको दाउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबारको पहिलो खेल दुई पटकको उप–विजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच खेलिँदैछ ।

कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:३० बजे शुरू हुनेछ । एनपीएलको तेस्रो संस्करणको यो १६औँ खेल हो ।

जारी प्रतियोगितामा सुदूरपश्चिमले आफ्नो पाँचौँ र कर्णालीले आफ्नो चौथो खेल खेल्न लागेका हुन् । लिग चरणको आधाभन्दा बढी खेल सकिँदासम्म यी दुबै टोली प्ले–अफ चरणको दौडमा छन् ।

अंक तालिकामा यी दुवै टोलीको समान अंक छ । यद्दपि, सुदूरपश्चिम रोयल्सभन्दा कर्णाली याक्सले एक खेल कम खेलेको छ ।

सुदूरपश्चिम रोयल्सको प्रदर्शन अघिल्लो संस्कणको तुलनामा केही खस्किएको देखिन्छ भने कर्णाली याक्सले आफ्नो प्रदर्शनमा सुधार ल्याएको छ ।

तीनमध्ये दुई खेलमा जीत र एक खेलमा हारको नतिजाबाट चार अंक बटुलेको कर्णाली याक्स तालिकाको तेस्रो स्थानमा आसिन छ ।

अर्कोतिर, चारमध्ये दुई खेलमा जीत र दुई खेलमा हारको नतिजा निकालेको सुदूरपश्चिम रोयल्स चार अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

सुदूरपश्चिम रोयल्सले हारबाट तेस्रो संस्करणको सुरुवात गरेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिमको टोली साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको सुदूरपश्चिमको टोली तेस्रो खेलमा भने विराटनगर किङ्ससँग ३५ रनले पराजित भएको थियो ।

चौथो खेलमा भने सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको थियो । तेस्रो संस्करणमा सुदूरपश्चिमले सोचेजस्तो प्रदर्शन गर्न सकिरहेको छैन ।

त्यसैले, सुदूरपश्चिम रोयल्सले आफ्नो विगतको खास फर्काउँदै पहिलो पटक उपाधिसम्म पुग्न ब्याटिङ र बलिङ दुवैमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ ।

अर्कोतिर, कर्णाली याक्सले जितबाट तेस्रो संस्करणको शुरूआत गरेको थियो । कर्णालीले आफ्नो पहिलो खेलमा पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो ।

दोस्रो खेलमा विराटनगर किङ्सलाई चार विकेटले स्तब्ध: पारेको कर्णालीको टोली आफ्नो तेस्रो खेलमा भने काठमान्डु गोर्खाजसँग चार विकेटले पराजित भएको थियो ।

अघिल्लो संस्करणको तुलनामा कर्णाली याक्सले निकै सुधारिएको प्रदर्शन गरिरहेको छ । कर्णालीको ब्याटिङ र बलिङ दुवै सन्तुलित देखिएको छ ।

खासगरी, विराटनगरविरुद्धको खेलमा एक सय ८७ रनको लक्ष्य १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै कर्णालीले आफ्नो क्षमताको प्रदर्शन गरिसकेको छ । कर्णालीले काठमान्डुविरुद्ध पनि ६ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो ।

जनकपुरविरुद्ध सबैभन्दा कम एक सय ३२ रन बनाए पनि उक्त खेलमा कर्णालीका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि टोली १९ रनले विजयी भएको थियो । यसले कर्णालीको बलिङ पनि सुदृढ रहेको देखाउँछ ।

पहिलो संस्करणमा प्ले–अफ चरणमा पुगे पनि दोस्रो संस्करणमा निराशाजनक प्रदर्शन गरेको कर्णाली यसपटक अब्बल प्रदर्शनसहित प्ले–अफ चरणमा पुग्दै पहिलो उपाधि कुम्ल्याउने धुनमा देखिएको छ ।

जारी सिजनको एनपीएलमा कर्णाली याक्सले बनाएको उच्च स्कोर ६ विकेट गुमाएर एक सय ८७ रन हो । विराटनगरले दिएको एक सय ८७ रनको लक्ष्य कर्णालीले ६ विकेट गुमाएर पूरा गरेको थियो ।

सुदूरपश्चिम रोयल्सले बनाएको सबैभन्दा ठूलो स्कोर भने चार विकेट गुमाएर एक सय ४८ रन हो । सुदूरपश्चिमले यो स्कोर पोखरा एभेन्जर्सविरुद्धको खेलमा बनाएको थियो ।

यसैगरी, जारी सिजनको एनपीएलमा कर्णालीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान अरिफुल ईस्लाम हुन् । उनले तीन खेलमा कुल एक सय १९ रन बनाएका छन् ।

कर्णालीका लागि पवन सर्राफले भने कुल एक सय तीन रन बनाएका छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा अरिफुल तेस्रो र पवन छैटौँ स्थानमा छन् ।

सुदूरपश्चिमका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी हुन् । उनले चार खेलमा एक अर्धशतकको मद्दतले कुल ७९ रन बनाएका छन् । ईशान पाण्डेले पनि ६९ रन बनाएका छन् ।

यसैगरी, कर्णालीका लागि सर्वाधिक विकेट लिने बलर सोमपाल कामी हुन् । उनले तीन खेलमा सात विकेट लिएका छन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा उनी संयुक्त रूपमा पहिलो स्थानमा छन् ।

सुदूरपश्चिम रोयल्सका लागि सर्वाधिक विकेट लिने बलर भने अनिल खरेल हुन् । उनले कुल ६ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिने बलरको सूचिमा संयुक्त रुपमा दोस्रो स्थानमा छन् ।

एनपीएलको इतिहासमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स दुई पटक आपसमा भिड्न लागेका हुन् । यसअघिको दुवै भिडन्तमा सुदूरपश्चिमले कर्णालीलाई हराएको थियो ।

सन् २०२४ मा आयोजित पहिलो संस्करणको लिग चरणमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको थियो ।

यसैगरी, सन् २०२५ मा आयोजित दोस्रो संस्करणको लिग चरणमा पनि सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि ४५ रनको जित हासिल गरेको थियो ।

यसपटक पनि सोमपाल कामीकै कप्तानीम रहेको कर्णाली याक्सको टोलीमा डेभिड मिल्लर, मार्क वाट, अरिफुल ईस्लाम, दीपक डुम्रे, हुसैन तलत, पवन सर्राफ, अकबर अली, गुलसन झा, नन्दन यादव, युनिस ठकुरी, युवराज खत्रीलगायतका खेलाडी छन् ।

यसैगरी, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सको टोलीमा सेफ जेब, विनोद भण्डारी, ब्रान्डन म्याकमुलेन, ईशान पाण्डे, आरिफ शेख, स्कट कुगेलेइन, अनिल खरेल, हेमन्त धामी, अविनाष बोहरा, थारिन्दु रत्नायकेलगायतका खेलाडी छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.