‘राइट टु रिकल’को व्यवस्था गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार र जवाफदेही बनाउन ‘राइट टु रिकल’ (फिर्ता बोलाउने अधिकार)को व्यवस्था गर्ने भएको छ । पार्टीको १५औँ महाधिवेशनपछि यसलाई कार्यान्वयनमा लैजाने तयारी गरिएको सभापति गगनकुमार थापाले बताए ।

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सुशासन प्रतिष्ठान गठन गरी त्यसैमार्फत पार्टीको नयाँ घोषणापत्र निर्माण, जनप्रतिनिधिको कार्यसम्पादन मूल्यांकन तथा राइट टु रिकलसम्बन्धी काम गरिने आइतबार (मंसिर १३) सानेपामा आयोजित एक कार्यक्रममा थापाले जानकारी दिए ।

कांग्रेसको अघिल्लो घोषणापत्र निर्माणमा संलग्न व्यक्ति हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद हुँदै मन्त्री समेत बनेको उनले उल्लेख गरे । कांग्रेसले नयाँ घोषणापत्र निर्माण गर्ने उनले बताए ।

सुशासन प्रतिष्ठानले कांग्रेसबाट निर्वाचित स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका जनप्रतिनिधिले गरेका कामको मूल्यांकन गर्नेछ । स्थानीय तहमा गर्नुपर्ने विकास तथा सामाजिक कामका विषयमा जनप्रतिनिधिलाई प्रशिक्षण दिने र उनीहरूको कार्यसम्पादनलाई पार्टीको नीति तथा कार्यक्रमानुरूप अघि बढाउन सहयोग गर्ने जिम्मेवारी पनि प्रतिष्ठानलाई दिइनेछ ।

जनप्रतिनिधिको काममा आर्थिक पारदर्शिता कायम गर्ने विषयमा पनि प्रतिष्ठानले निगरानी तथा सहजीकरण गर्नेछ । पार्टीको नीति, नियम र विधानविपरीत काम गरेमा, आर्थिक अनियमितता गरेको पुष्टि भएमा वा व्यक्तिगत स्वार्थका निम्ति पदको दुरुपयोग गरेमा सम्बन्धित जनप्रतिनिधिलाई कारबाहीको दायरामा ल्याइने थापाले बताए ।

कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिले पार्टी परिवर्तन वा यसको नीति र अनुशासनविपरीत गतिविधि गरेमा पनि कारबाही गर्ने तयारी छ । आर्थिक अनियमितता तथा जिम्मेवारीअनुसार काम नगरेको पुष्टि भएमा राइट टु रिकल प्रयोग गरी जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गरिने थापाको भनाइ छ ।

सुशासन प्रतिष्ठानमा राजनीतिक नेतृत्वसँगै नियम, कानुन तथा प्रशासनिक विषयमा सहयोग गर्न दक्ष कर्मचारी समेत रहने कांग्रेसले जनाएको छ ।

प्रतिष्ठानले जनप्रतिनिधिलाई पार्टीको नीति, नियम र विधानबारे जानकारी गराउनुका साथै उनीहरूको कामलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नेछ ।

रास्वपाले यसअघि नै आफ्नो पार्टीको विधानमा राइट टु रिकलको व्यवस्था गरेको थियो ।

यता, वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले भने नेपालको संविधानमा राइट टु रिकलको परिकल्पना नगरिएको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.