काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नीति र घोषणापत्र विपरीत काम गर्ने पालिका जनप्रतिनिधिलाई जुनसुकै बेला फिर्ता बोलाउन सकिने बताउनुभएको छ ।
पार्टी मुख्यालय सानेपामा आयोजित ‘हामी तयार छौँ’ अभियानअन्तर्गत पालिकाका प्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा सभापति थापाले निर्वाचित भएपछि जनप्रतिनिधि पार्टीसँग सम्पर्कविहीन हुने पुरानो अभ्यास अन्त्य गरिने बताउनुभयो ।
जनप्रतिनिधिको पाँच वर्षे कामको अनुगमन र मूल्याङ्कन गर्न पार्टीले ‘गभर्नेन्स इन्स्टिच्युट’ स्थापना गरेको जानकारी दिँदै उहाँले अब जनप्रतिनिधिले इन्स्टिच्युटको निगरानीमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
आउँदो पालिका चुनावमा उम्मेदवारले टिकट लिँदै गर्दा अनुशासनमा रहने र आर्थिक अनियमितता नगर्ने लिखित प्रतिबद्धता जनाउनुपर्ने पनि उहाँले बताउनुभयो ।
यस्तै उपसभापति पुष्पा भुसाल नेतृत्वको निर्वाचन ब्युरोले देशका ७५३ मध्ये केही पालिकामा वैज्ञानिक सर्वेक्षण गरी पार्टीको अवस्था र महिला उम्मेदवारको जित्ने सम्भावनाबारे अध्ययन गरिरहेको थापाले बताउनुभयो ।
आउँदो चुनावमा टिकट वितरणको पुरानो प्रणाली हटाएर सम्बन्धित तहका क्रियाशील सदस्यले गोप्य डिजिटल मतदानमार्फत उम्मेदवार छनोट गर्न पाउने व्यवस्था गरिने सभापति थापाको भनाइ छ । यसका लागि केन्द्रीय समिति बैठकबाट छिट्टै निर्वाचन निर्देशिका बनाइने उहाँले जानकारी दिनुभयो ।