दार्चुला – काग्रेस सुदूरपश्चिम प्रदेश सभामा दार्चुलाबाट तीन जना सदस्यमा निर्वाचित भएका छन् । प्रदेश समितिको खुला सदस्यबाट जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबीर बहादुर कार्की, प्रदेश भूगोलबाट युवा नेता राजेन्द्र विष्ट र कमला धामी सामन्त विजयी भएका हुन् ।
कैलालीको धनगढीमा सम्पन्न नेपाली काँग्रेस सुदूरपश्चिमको प्रथम अधिवेशनबाट ५९ सदस्यीय कार्यसमिति चयन भएको छ । निर्वाचनमार्फत ८ पदाधिकारी र ४८ जना प्रदेश सदस्य विजयी भएका हुन् भने तीन जना सदस्य निर्विरोध चयन भएका हुन् ।
पदाधिकारीमा सबै संस्थापन अर्थात काँग्रेस सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवा निकटका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभापतिमा देउवा पक्षका पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका हुन्। उहाँले ६८८ मत प्राप्त गरे भने उहाँका प्रतिद्वन्द्वी पौडेल पक्षका नारायणदत्त मिश्रले २८० मत पाए ।
यस्तै उपसभापतिमा देउवा पक्षकै जनकराज चौधरी र लोकराज अवस्थी महामन्त्रीमा पनि देउवा पक्षकै नरनारायण शाह र मेघराज खड्का, सहमहामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउने विजयी भए। तीनै जना सहमहामन्त्री पनि देउवा पक्षका हुन्।
५२ प्रदेश सदस्यमध्ये कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका थिए। मनोनयन दर्तामा भूगोल सदस्यमा बढी उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध भएका हुन्। बाँकी ४८ जना सदस्य चयनका लागि भएको निर्वाचनमा १६० जनाले उम्मेदवारी दिएका थिए।