दार्चुला । एमाले सांसद मोहन बानियाँविरुद्ध बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक शिक्षिकाको उजुरीका आधारमा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिनुभयो ।
ती शिक्षिकाले दिएको उजुरीका आधारमा आफूहरूले अदालतबाट पक्राउ पुर्जी माग गरेको र हिजो मङ्गलवार जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।
आरोपी बानियाँलाई पक्राउ गर्न प्रक्रिया सुरु गरेर खोजी भइरहेको पनि उहाँले बताउनुभयो ।
पक्राउ पुर्जी जारी भएको बारेमा संसद् सचिवालय र सभामुखलाई पनि जानकारी गराइसकिएको डीएसपी न्यौपानेले बताउनुभयो ।
नेकपा एमालेबाट निर्वाचित सांसद बानियाँ यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा केही दिन मन्त्रीसमेत बन्नुभएको थियो ।