दार्चुला – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ मा स्वास्थ्यचौकीमा प्रसूति गराउनेलाई पोषण भत्ता दिइने भएको छ । घरमै असुरक्षित तरिकाले प्रसूति हुने कार्यलाई निरुत्साहित गर्न वडा कार्यालयले भत्ता दिन थालिएको हो ।
तीन वर्षदेखि निरन्तर रुपमा वडा कार्यालयले स्वास्थ्यचौकीमा रहेको बर्थिङ सेन्टरमा प्रसूति हुने महिलालाई भत्ता बापतको रकम दिँदै आएको छ । स्वास्थ्यचौकीमा शिशु जन्मेको ३५ दिनभित्रै जन्म दर्ता गराएपछि भत्ताबापतको रकम उपलव्ध गराउने व्यवस्था गरिएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।
यो कार्यक्रम अन्तर्गत सुत्केरी हुने महिलालाई वर्षमा एक पटकमा एक हजार दुई सय रुपैयाँ भत्ताबापत रकम दिने गरिएको छ । सुत्केरी हुने महिला र शिशुका लागि दुई जोर कपडासमेत दिने ब्यवस्था गरिएको छ ।
पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि भत्ता दिन थालेपछि मातृ–शिशु मृत्युदर शून्यमा झरेको वडा कार्यालयका सचिव श्यामप्रसाद चौधरीले बताउनुभयो ।