दार्चुला । सुदूरपश्चिममा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ। विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ। परम्परागत किंबदन्तीअनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी गोठालाहरुले पुतनाको शव दहन गरेको कथन रहेको छ।
द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्रीकृष्ण दुध चुसी मारेको तथा विशाक्त दुध चुस्दा पनि भगवान श्रीकृष्ण बाँचेको खुशियालीमा असोज संक्रान्तीका दिन यो पर्व मनाईने गरिएको छ ।
ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलि अग्लो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानिय भाषामा “बुढी हालेको’’ भन्ने गरिन्छ। यो बूढीलाई नै आज असोज संक्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ’बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ।
पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ। साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले थुई बुढी थुई भन्ने गर्छन्। त्यस्तै बुढी पोलेर घर फकिर्ने क्रममा बाटो–बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ। यस पर्वमा रातभरी डेउडा, भुवा जस्ता साँस्कृतिक कार्यक्रम गरिने चलन पनि छ।