सुदूरपश्चिम प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटको फाइनलमा

दार्चुला ।  मधेश प्रदेशलाई पराजित गर्दै सुदुरपश्चिम प्रदेश इटहरीमा जारी रहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  कविता कुँवर र कप्तान बिन्दु रावलले ९४ बलमा १ सय २८ रनको कीर्तिमानी ओपनिङ साझेदारी गरेपछि सुदुरपश्चिमले मधेशलाई १ सय १४ रनले पराजित गरेको हो ।

 

इटहरीको जनता क्रिकेट पार्क क्रिकेट मैदानमा सुदुरपश्चिमले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ८ विकेट गुमाएर ६६ रन मात्र बनाउन सक्यो ।  मधेशका लागि प्रतिमा शाह १९ रनमा आउट हुँदा सिमा कुँवरले  १६ रन बनाईन् । अलिशा यादव १४ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

सुदुरपश्चिमका लागि मनिशा चौधरी र रितु कनौजियाले समान दुई दुई तथा कविता कुँवर,रितु कनौजिया र स्नेहा महराले समान एक एक विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा २ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।

 

सुदुरपश्चिमका लागि कविता कुँवर र बिन्दु रावलले अर्धशतक बनाए । कुँवरले ५४ बलमा १२ चौका तथा १ छक्का प्रहार गर्दा ७० तथा कप्तान बिन्दु रावलले ५२ बलमा अविजित ६० रन बनाईन् । कविता जोशी १५ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाएर आउट भईन् ।मधेशले १८ रन अतिरिक्त रुपमा दिएको थियो ।

 

मधेशका लागि भुमि सिंह र साना प्रविनले समान एक एक विकेट लिए ।  अब सुदुरपश्चिमले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि शनिबार खेल्नेछ ।

 

 

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन् ।

Leave A Reply

Your email address will not be published.