दार्चुला । यसवर्षको हिउँदमा अहिलेसम्म पनि पानी नपरेका कारण हिउँदे बालीको उत्पादनमा असर पर्ने भएको छ । गएको वर्ष मंसिर, पुस र माघमा आवश्यक वर्षा भएकाले उत्पादनमा खासै समस्या भएको थिएन । तर यस वर्ष केही ठाउँमा छिटपुट वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात बाहेक जमिन भिज्ने गरी पानी परेको छैन ।
मध्यमाघ सकिँदा पनि पानी नपरेपछि गहुँ, तोरी, हिउँदे मकै तथा फलफूलको उत्पादनमा असर पर्ने देखिएको नार्कको योजना महाशाखाका प्रमुख एवम् वरिष्ठ वैज्ञानिक टेकप्रसाद गोतामेले बताउनुभयो । उहाँका अनुसार सुक्खापन र खडेरी बढ्दै जाने हो भने कृषि उत्पादनमा दीर्घकालीन असर देखिनेछ । यो बेला सिँचाइ नभएका क्षेत्रमा गहुँ तथा तोरी र तरकारीरफलफूल राम्रो उत्पादन नहुने हुँदा यसले समग्र किसानको आयआर्जन नै घट्ने देखिएको छ ।
त्यस्तै आउँदा दिनमा सरकारले सिफारिस गरेका बालीका जातहरु नै उत्पादन अनुकूल नहुने जोखिम समेत बढेको छ । यसबाट किसानले खेती नै गर्न नसक्ने अवस्थातर्फ जाने चिन्ता बढेको वरिष्ठ वैज्ञानिक गोतामेको भनाइ छ । ‘माघ महिनाभित्र केही मात्रा भए पनि पानी परे त्यति धेरै नोक्सानी नहोलाु उहाँले भन्नुभयो, ुतर यस्तै अवस्था रहे र हिउँदे वर्षा नभए जोखिम उच्च हुनेछ ।’ कृषि विज्ञका अनुसार गहुँको राम्रो उत्पादन लिनका लागि छरेदेखि काट्दासम्म कम्तीमा पनि तीन पटक सिँचाइ गर्नुपर्छ । तर आकाशे पानीको भरमा रहेका किसानहरू एक पटक पनि पानी नपरेपछि चिन्तित छन् ।
गहुँ तथा तरकारी बाली सुक्न थालेको छ । सुक्खा हुँदा हिउँदे फलफूल ओखर, स्याउ जस्ता नगदेबाली पनि प्रभावित भएका छन् । बालीमा रोगकिराको जोखिम पनि बढेको छ । बदलिँदो मौसमको कारण देशका विभिन्न ठाउँमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापर्न थालेको छ । यसको व्यवस्थापनको लागि ढुसीनाशक विषादी प्रयोग गर्न कृषि विज्ञको आग्रह छ । अरहर तथा चना बालीको कोसामा लाग्ने गवारो कीरा देखिने हुँदा यसको पनि व्यवस्थापनमा ध्यान दिन विज्ञको सुझाव छ ।
गएको वर्ष कुल खेती गरिएको क्षेत्रफलमध्ये ४२ प्रतिशत जग्गामा मात्रै सिँचाइ सुविधा पुगेको छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गएको वर्ष देशभर २९ लाख १७ हजार ४०२ हेक्टर जमिनमा मात्रै खेती भएको थियो । त्यसमध्ये १२ लाख २६ हजार ५५६ हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको प्रतिवेदनमा उल्लेख छ ।
कुलो, नहर, पोखरी, बोरिङ, थोपा सिँचाइ जस्ता माध्यमबाट जमिनमा सिँचाइ हुने गरेको छ । देशभर ३६ लाख ८१ हजार ९६४ हेक्टर खेतीयोग्य जग्गा रहेको राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ ।