काल बन्दै कच्ची सडक, ९ महिनामा सडक दुर्घटनामा परी ७ जनाको मृत्यु

दार्चुला । बैतडीमा पछिल्लो ९ महिनामा सडक दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ । विभिन्न सवारी दुर्घटनामा परेर सोही अवधिमा ४१ जना घाइते भएका छन् । अधिकांश सवारी दुर्घटना ग्रामीण कच्ची सडकमा हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । चालु आर्थिक बर्षको साउनदेखि चैत तेश्रो साता सम्म ११ ओटा सवारी दुर्घटना भएका र ती मध्ये ९ ओटा ग्रामीण कच्ची सडकमा भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक दशरथ नाथले बताउनुभयो ।

पालिकाहरुले बनाएका कच्ची सडकहरुमा बढी जसो दुर्घटना हुने गरेका छन् । ग्रामीण कच्ची सडकहरु साँघुरो हुनु, मोड सुधार नहुनु, ग्रेड अनुसार सडक नहुनु, सवारी साधन पुराना हुनु लगायतका कारणले सवारी दुर्घटना बढ्दै गएका नाथले बताउनभयो ।

गएको सोमबार मात्रै देहीमाण्डौं–गिरेगडा सडकमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भयो भने १४ जना घाइते भए । जिपको बे्रक फेल भएपछि जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । कच्ची सडकमा जिपले लोड धान्न नसकेपछि दुर्घटना भएको सो दुर्घटनामा हाम फालेर ज्यान जोगाएका गोपालदत्त भट्टले बताए । हाम फालेर ज्यान जोगाएका भट्टले ग्रामीण कच्ची सडकमा ट्राफिक नियमको पालना नहुँदा बढी दुर्घटना हुने गरेको बताएका छन् ।

चालु आर्थिक बर्षको ९ महिना भएका ११ सवारी दुर्घटना मध्ये ७ ओटा जिप दुर्घटनामा परेका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नाथले बताए । यसै अवधिमा दुईओटा मोटरसाइकल र एक ट्याक्टर दुर्घटनामा परेका नाथले बताउनभयो ।

Leave A Reply

Your email address will not be published.