अध्ययन भएको ४ वर्षपछि चैनपुर सेती आयोजना निर्माणको काम सुरु

दार्चुला । सुदूरपश्चिम प्रदेशकै महत्त्वपूर्ण आयोजना मानिएको चैनपुर सेती जलविद्युत् आयोजना निर्माणको काम थालिएको छ। २१० मेगावाट क्षमताको यो आयोजना निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणले जग्गा अधिग्रहणको प्रक्रिया थालेको जनाएको छ।

आयोजनाको अध्ययन सुरु भएको ४ वर्षपछि प्राधिकरणले निर्माण प्रक्रिया अघि बढाएको हो। अर्धजलाशययुक्त यो आयोजनालाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेर काम सुरु गरिएको र आगामी ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। आयोजना निर्माणका लागि प्रारम्भिक अध्ययनको काम सकेर भूगर्भविद्हरूको टोली अहिले दोस्रो चरणको भौगर्भिक अवस्थाको विश्लेषणमा जुटेको बताईएको छ। यस्तै जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम पनि अघि बढेको छ।

बैंक ब्याजबाहेक ३६ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको हो। यसअन्तर्गत आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित क्षेत्रका स्थानीय र बाह्य जिल्लाका नागरिकको पनि लगानी रहने प्राधिकरणले जनाएको छ। यसबाट सुक्खायाममा समेत दैनिक कम्तीमा ६ घण्टा २१० मेगावाट विद्युत् उत्पादन हुने बताइएको छ।

Leave A Reply

Your email address will not be published.