पानी परेपछि नेपाल र यूएईबीचको फाइनल खेल रोकियो

दार्चुला । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र यूएईबीचको खेल पानी परेर रोकिएको छ । फाइनल खेलमा नेपालले राम्रो सुरुवात गरेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएको छ । सुरुवातमै नेपालले पाँच विकेट लिएपछि यूएई दबाबमा परेको छ । नेपालका करन केसीले दुई तथा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एकरएक विकेट लिए ।

आजको खेलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी बेन्चमा रहेका छन् । कीर्तिपुरमा नेपाल र यूएईबीच खेल भइरहेको छ । दीपेन्द्रसिंह ऐरीको ठाउँमा गुलशन झालाई मौका दिइएको छ । दीपेन्द्रले पछिल्लो समय ब्याटिङमा कमजोर प्रदर्शन गर्दै आएका छन् ।

आजको खेल जित्ने टोलीले एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

कीर्तिपुर मैदानमा डेढ महिना अगाडि भएको विश्व कप लिग–२ को अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै विश्व कप ग्लोबल क्वालिफायरमा छनोट भएको थियो । पछिल्लो दुई महिनाको बीचमा नेपाल र यूएई ४ पटक आमनेसामने भएका छन् । जसमा यूएईमा भएको एउटा खेल नेपालले हारेको थियो भने बाँकी ३ खेल जितेको थियो । यूएईसँगको एउटा खेल हारेयता नेपालले अरु खेल हारेको छैन ।

आजको खेलमा पानी परेमा भोलि हुनेछ । तर निरन्तर पानीले खेल हुन नसके सुपर ओभर हुनेछ । सुपर ओभर पनि बराबर भएमा अर्को सुपर ओभर हुनेछ । तर वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आईसीसीको एकदिवसीय वरीयता अनुसार माथि रहेको टोली एसिया कपमा पुग्नेछ ।

एकदिवसीय वरीयतामा नेपाल १४औँ र यूएई १९औँ स्थानमा छन् । खेल रद्द हुँदा नेपाल एसिया कपमा पुग्दै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

Leave A Reply

Your email address will not be published.