सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना लागू

दार्चुला । सुदूरपश्चिम प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ। दशैं, तिहार र छठ पर्वमा विभिन्न अपराधिक क्रियाकलाप तथा दुर्घटना बढ्न सक्ने भएकाले उक्त योजना लागू गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती र ठगी लगायतका अपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले बताउनुभयो। प्रदेश प्रहरी र ९ वटै जिल्लाका सुरक्षा निकायले बनाएको सुरक्षा योजना लागू गरिएको उहाँले बताउनुभयो ।

योजना अनुसार विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने, राजमार्ग क्षेत्रमा रिफ्रेस सेन्टर स्थापना गर्ने, राजमार्ग क्षेत्रमा सरप्राइज चेकिङ गर्ने र स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गरिने प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताउनुभयो।

कैलालीलाई २ भागमा बाँडेर सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। उनका अनुसार धनगढी उपमहानगरपालिकाका ५६ स्थानमा विशेष टोली र बाँकी जिल्लाधर ११७ भागमा पनि टोली परिचालन गरेर योजना बनाइएको छ।

सीमा नाकामा यात्रु ठगिने तथा लागुऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार हुनसक्ने भएकाले कुकुर समेत परिचालन गर्ने योजना बनाइएको उनले बताए। ‘हामीले बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि पनि विशेष टोलीहरु परिचालन गर्नेछौ’ उनले भने, ‘ड्रोनमार्फत समेत जिल्लाभर निगरानी बढाउने योजना छ।’

 

उक्त सुरक्षा योजना सफल बनाउन सशस्त्र प्रहरी गण, प्रदेश प्रहरी कार्यालय र दंगा नियन्त्रण कार्यालयको समेत सहयोग लिने एसपी अधिकारीले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.