भारतमा कार दुर्घटना, ६ नेपालीको मृत्यु
भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा ६ नेपालीको मृत्यु भएको छ। नेपालगन्जका दुई परिवारका ६ जनाको मृत्यु भएको हो।
भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ।
दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ। शनिवार बिहान निलान्स र सुनिती मामाघर घुम्न र बैभव माइतीमा रहेकी श्रीमती दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको हो।
दुर्घटनाको खबरले नेपालगन्जको त्रिभुवनचोक क्षेत्र शोकमा डुबेको छ। त्रिभुवन चोकका बासिन्दा मृत्युको खबर पाएदेखि रातभर सुतेका छैनन्। गुप्ताको घरमा आफन्तजन र स्थानीयवासीको भीड लागेको छ। मृतकको भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।