सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोका एक अधिकृतका अनुसार, चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान पक्राउ परेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कालोसूचीमा रहेका उनीहरु विमानस्थल पुगेपछि अध्यागमन विभागले सीआईबीका अधिकृतहरुलाई जानकारी गराएको थियो । त्यसपछि विभागबाट बुझेर उनीहरुलाई पक्राउ पूर्जी थमाइएको एक अधिकृतले बताए ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, दुई चिनियाँ नागरिकको १४ साउनमा पक्राउ परेका बेल्जियन नागरिक दावा लामासँग सम्बन्ध देखिएको छ । उनले सञ्चालन गरेको ठमेलस्थित होटल भियनामा छापा मारेर दावालाई अनुसन्धान अधिकृतहरुले पक्राउ गरेका थिए ।

स्रोतका अनुसार, दावाले केही चिनियाँ नागरिकहरुलाई होटलको नाममा लिएको गाडी उपलब्ध गराएको पाइएको थियो । ती गाडी पक्राउ परेका दुई चिनियाँ नागरिकसहित अरुले प्रयोग गर्ने गरेको अधिकृतहरु बताउँछन् ।

‘उनीहरुबाट सुन प्रकरणका थप तथ्यहरु खुल्छन् भन्ने अपेक्षा हो’, एक अनुसन्धान अधिकृतले भने ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा हङकङबाट आएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । लगत्तै ट्याक्सी चालक र भन्सार एजेन्ट पक्राउ परेका थिए ।

विभागले १९ दिनसम्म अनुसन्धान गरेर यसमा संगठित अपराधको कसूर आकर्षित हुने देखिएपछि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० लाई जिम्मा लगाएका थियो ।

अनुसन्धान अधिकृतहरुले यो प्रकरणमा यसअघि अर्का चिनियाँ नागरिक ज्यास्याङ लिनलाई पनि पक्राउ गरिसकेको छ । प्रहरीको विशेष ब्यूरोले उलनाई दरबारमार्ग नजिकै उत्तर ढोकामा लोकेट गरेको थियो । पछ्याउँदै जाँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

online khabar

Leave A Reply

Your email address will not be published.