मुस्ताङमा बाढीको बितण्डा १० घर, प्रहरी चौकी र पुल बगायो

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ ।

गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पु¥याएको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङ का अनुसार बाढीले १० घर÷होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युत्का पोल बगाएको छ।

“कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुन पाएन”, उहाँले भन्नुभयो, “बाढीले कागबेनीको धर्मशाला पुरिएको छ । बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ ।” मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीचभागमा छ ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएको बताए । उहाका अनुसार पाण्डाखोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ । कागबेनी हुदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ ।

विद्युत् पोल ढलेकाले विद्युत् आपूर्ति समेत बन्द भएको छ । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ ।

मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.