दार्चुला । कालोबजारी र मिसावट गर्नेलाई कुनै पनि शर्तमा नछाड्ने प्रशासन र स्थानीय तहको भनाई शब्दमा मात्रै सिमित भएको छ। जिल्लाका हरेक बजारमा कतीपय ब्यापारीले कालोबजारी मिसावट गरि दैनिक उपभोग्य लगायतका समान बिक्रि वितरण गरिरहेका छन । बजार अनुगमनमा सरोकारवाला निकायले चासो नदिदा ब्यापारीको मनपरि हुने गरेको छ।
बजार अनुगमनका लागी दशै तिहार पर्खिनु पर्ने दार्चुलामा दशै तिहारमा पनि सदरमुकाम क्षेत्रका केही पसल हल्ला धेरै र कारवाही थोरै हुने गरी अनुगमन हुने गरेको छ। गत विगतका बर्षहरुमा प्रशासन कार्यालयले बजार अनुगमन गर्ने गरेको भए पनि अहिले त्यो अधिकार स्थानीय तहलाई दिइएको छ। आफ्ना पार्टीका राजनितीक कार्यक्रमकै लागी फुर्सद नहुने स्थानीय तहका जनप्रतिनिधिलाई बजारमा भइरहेको कालोबजारी र उपभोक्ताको स्वास्थयमाथी खेलवाड गरिरहेका व्यापारीलाई कारवाहीको लागी समय हुने कुरै भएन ।
दार्चुला सदरमुकामस्थित खलंगा बजारमा शुक्रबार बजार अनुगमन गरिएको छ । बजार अनुगमन समिति संयोजक एबं सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीको नेतृत्वमा सरोकारवाला कार्यालयका प्रतिनिधिको सहभागितामा झण्डै सदरमुकाम क्षेत्रमा रहेका जम्मा २० वटा पसलको छड्के अनुगमन गरिएको हो । अनुगमनका क्रममा हंस ट्रेडर्स एण्ड सप्लायर्स र दिनेश मासु पसल एण्ड फ्रेस हाउसका संचालकलाई जनही १५(१५ हजारकादरले ३० हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
सयौको संख्यामा रहेका सदरमुकाम क्षेत्रका पसलहरु मध्ये जम्मा २० वटा पसलमा अनुगमन गरि प्रक्रिया पुरा गर्ने र झारो टाल्ने काम भएको स्थानीयको गुनासो छ। बजार अनुगमनको क्रममा म्याद नाघेको तथा सडेगलेका अखाद्य बस्तुको बिक्रिबितरण गर्ने पशलहरुलाई कारर्वाही गरिएको छ । यसरी सदरमुकाम क्षेत्रकै पसलमा निर्धक संग कालोबजारी भइरहेको दार्चुलामा ग्रामीण क्षेत्रका ब्यापारीलाई झन कालोबजारी गर्न झन सजिलो भएको छ।
बजार अनुगमन भयो र यती पसलेलाई कार्वाही गरियो भनेर जस लिने अनुगमन समीतीले सदरमुकाम क्षेत्रकै पनि ५० प्रतिशत पसलमा अनुगमन गर्न सकेको छैन । सदरमुकाम क्षेत्रका २० पसलमा अनुगमन गर्दा २ पसलमा मिसावट, अखाद्यय बस्तु,म्याद गुज्रेका सामान भेटिएका छन,भने सबै पसलमा अनुगमन भए कतीको कालोबजारी भइरहेको छ भन्ने अनुमान लगाउन सकिन्छ ।
चाडपर्वमा समयमा समेत जिल्ला सदरमुकामकै सबै पसलमा अनुगमन नभएको अवस्थामा ग्रामीण क्षेत्रका बजामा अनुगमन हुने स्थानीयको लागी आकाशको फल आँखातरी मर भने जस्तै भएको छ। बजार अनुगमनको क्रममा कालोबजारी गर्ने ब्यापारीहरुमध्ये धेरै जसोलाई चेतावती दिएर छोड्ने गरिएको छ । बर्षको एक दुई पटक त्यो पनि बिराएर गरिने बजार अनुगमनकै क्रममा पनि ब्यापारीलाई प्रशासनले दिएको चेतावतीले कुनै असर गरेको देखिदैन ।
बजारमा कालोबजारी मौलाएको अवस्थामा समेत बजार अनुमगनको जिम्मेवारी पाएका कार्यालय र स्थानीय सरकारले अनुगमनको जिम्मेवारी पुरा गर्न नसकेको स्थानीयको गुनासो छ । एकातिर अधिकतम खुद्रा मुल्य भन्दा बढी तिरेर महगोंमा सामान किन्नुपर्ने बाध्यता छ भने अर्कोतिर म्याद नाघेका, सडेगलेका अखाद्य बस्तुहरु समेत बजारमा बिक्रिवितरण हुने गरेका छन् ।
ग्रामिण क्षेत्रमा कसैले पनि सामानको मूल्यशूची राखेका छैनन । सदरमुकाम क्षेत्रमा पसलमा समेत कालोबजारी हुने गरेको छ । अधिकासं पशलले मुल्य सूचि नै अपडेट गरेका छैनन् । स्थानीय बजारमा अनुगमन नहुने भएकाले व्यापारीहरूको मनपरी हुने गरेको स्थानीय बताउँछन । म्याद नाघेका सामग्रीहरू व्यापारीले बेच्ने गरेका छन् । उपभोक्ताहरु सचेत र एकजुट तथा व्यापारीहरु जिम्मेवार नहुदासम्म कालोबजारी रोक्न चुनौती रहेको प्रशासनले जनाएको छ ।