बर्दिया- पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगञ्ज नजिक गएराति ९ बजेतिर रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको ज्यान गएको छ । २९ जना घाइते भएका छन् ।बर्दिया ठाकुरबाबा नगरपालिका(९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ७० वर्षीय चानुराम थारु रहेका छन् ।यसैगरी ठाकुरबाबा नगरपालिका(८ का बस चालक ४५ वर्षीय जोग बहादुर चन्द र नाम खुल्न बाँकी बसन्त भनिने सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।