दार्चुला : अहिले दार्चुला प्रहरी महाअभियानको नारा लिएर सहर देखि गाउँसम्म पुगेको छ । जिल्लामा प्रहरीले मुख्यगरी लागूऔषध, गुण्डागर्दी र अनैतिक क्रियाकलापविरुद्ध महाअभियान नै संचालन गरेको छ । नयाँ प्रहरी प्रमुख शिव बहादुर सिंहको दार्चुला आगमन सँगै महाअभियानको थालनी गरिएको हो ।
जिल्ला भरी नै प्रहरीले लागूऔषध, गुण्डागर्दी र अनैतिक क्रियाकलापविरुद्ध सचेतना अभियान चलाएको प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले बताए । महाअभियानअन्तर्गत लागूऔषध निर्मुलका लागि प्रहरी सक्रिय भएको उनको भनाइ छ । महाअभियानको नारासहित प्रहरी यहाँका दुई ठूला बजार खलंगा र गोकुलेश्वरमा केन्द्रीत हुँदै यसको प्रभाव गाउँसम्मै पुगाउन उद्धत देखिएको छ । सोही क्रममा जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा जिल्लाको मार्मा गाउँपालिकामा युवा लक्षित कार्यक्रम संचालन गर्न भ्यायो ।
जिल्लाको मार्मा क्षेत्रबाट लागूऔषधको कारोबार र उत्पादन बढी हुने गरेकोले यस क्षेत्रमा कार्यक्रम गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) सिंहले बताए । प्रहरीले त्याँहा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयलाई सँगै राखेर महाअभियानबारे जानकारी गराउँनुका साथै लागूऔषध नियन्त्रणका लागि सहयोग गर्न अपिल गरेको छ ।
जिल्लाको ग्रामीण क्षेत्र मार्माबाट महाअभियानको कार्यक्रम थालनी भएको बताउँदै डीएसपी सिंहले यो अभियान जिल्लाका सबै क्षेत्रमा फैलिने दोहोर्याउनुभयो । महाअभियानमा मार्मा गाउँपालिकाले समेत यसमा प्रतिवद्धता जनाउँदै नियन्त्रणका लागि पूूर्ण सहयोग रहने जनाएको उनले बताए ।
जिल्ला सदरमुकाम क्षेत्रका विद्यार्थी युवाहरु लागूऔषध दुव्र्यसनीमा लिप्त रहेको देखिएको एक तथ्यांक उनले सार्वजनिक गरे । उनका अनुसार एक सय जना विद्यार्थीमा ८० जना लागूऔषध, कुलतमा फसेको पाइएको छ । यसका लागि विद्यालय–समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई जोड दिइएको उनले बताए । विद्यार्थी बिग्रनुमा शिक्षक र अभिभावकले समेत जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।
यस्तै प्रहरीले विद्यालयका बालबालिका सँगको सम्वाद र कार्यक्रममा जोड दिएको छ। बालबालिकाहरुसंगको सामिप्यताले उनीहरुमा प्रहरी प्रतिको सोचमा परिवर्तन भई सूचनाहरु संकलन हुने र हुन सक्ने अपराधिक गतिविधिहरुमा समेत प्रहरीको पहुँच पुग्ने तथा समाजमा हुने विविध किसिमका अपराधिक कार्यहरुलाई समयमै निरुत्साहन गर्न सकिने डीएसपी सिंहले बताए । प्रहरीले दार्चुलामा लागूऔषध निर्मुल पार्ने जनाएको छ ।
१ हजार ८१ जनाका कानका मुन्द्रा झिकियो
बजारमा अशोभनीय भइ हिड्डुल गर्ने १ हजार ८१ जनाका कानका मुन्द्रा झिकिएको छ । गाउँबाट बजार झर्ने र बजारमा रहेका मुन्द्रेहरुका मुन्द्रा झिकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । अशोभनीय रुपमा एक कानमा मात्रै मुन्द्रा लगाएका, विभिन्न धातु र रबरका मुन्द्रा झिकिएको उनले बताए । आइतबारसम्म १ हजार ८१ मुन्द्रेका मुन्द्रा झिकिएको हो ।
लागूऔषध र कुलतमा फसेका १ सय ७७ लाई सीमानाकाबाट फर्काइयो
पछिल्लो समय प्रहरीले सीमा नाकामा लागूऔषध चेकजाँचमा कडाइ गरेको छ । यहाँका लागूऔषध सेवनकर्ता भारतीय बजारका मेडिकल गएर लागूऔषध सेवन गर्ने गरेका छन् । यसैलाई मध्यनजर गर्दै प्रहरीले सीमा नाकामा कडाइ गरेको हो । भारत जान लागेका १ सय ७७ जना सेवनकर्तालाई सीमा नाकाबाट भारत जान नदिइ फर्काएको प्रहरीले जनाएको छ ।