मृतक परिवारसँग सीडिओसहितको सुरक्षा टोलीको भेटघाट

दार्चुला – शनिबार इजरायलमा भएको आक्रमणमा परी मृत्युवरण गरेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ का लोकेन्द्र सिंह धामी र लेकम गाउँपालिका–५ का दिपेश राज विष्टको घरमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली पुगेर भेटघाट गरेको छ । आज प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल दार्चुलास्थित ४४ नम्बर गणका गणपति डम्बर बहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी शिव बहादुर सिंह, राष्ट्रिय अनुसन्धान विभागका डीएसपी भगेन्द्र बहादुर चन्द सहितको टोलीले घरमै पुगेर मृतकका परिवारसँग भेटघाट गरेको हो ।
सिडिओसहितको टोली त्यहाँ पुग्दा परिवारका सबै सदस्य विछिप्त अवस्थामा थिए । छोराको मृत्युको खबर सुनेदेखि नै आमाबुवा होसमा आएका छैनन् । उमेरले २४ वर्ष पुगेका लोकेन्द्रको इजरायलमा हमास समूहले गरेको आक्रमणमा परी मृत्युभएपछि उहाँकी श्रीमती होसमा आउन सकिरहेकी छैनन् ।
साथमा नाबालक ३ वर्षीया छोरी, एक वर्षको छोरा हुर्काइरहेकी उनी लोकेन्द्रको मृत्युको खबरले विछिप्त छिन् । कलिलै उमेरमा बुवाको मृत्युले नाबालक छोराछोरी टुहुरा बनेका छन् । आमा पनि मुर्छा परी बोल्न र सम्हाल्न सकिरहेकी छैनन । लोकेन्द्र एक महिना अघि मात्रै सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका थिए । छोराको मृत्युको खबरले लेकम गाउँपालिका–५ की पार्वती विष्ट होसमा आउन नसकेपछि उपचारका लागि कन्चनपुर लगिएको छ ।
यस्तै पीडित परिवारले जतिसक्दो चाडो शव नेपाल ल्याइदिन प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.