इजरायलले नेपाललाई हस्तान्तरण गरेपछि मात्रै १० जनाको शव स्वदेश ल्याइने

 

काठमाण्डौ – इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा ज्यान गुमाएका १० जना नेपालीको शव स्वदेश ल्याउन अझै केही समय लाग्ने भएको छ । अहिले १० वटै शव इजरायल सरकारले सुरक्षित रूपमा राखेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।आज बुधवार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले पहिले इजरायलले नेपाललाई शव हस्तान्तरण गरेपछि मात्रै त्यहाँबाट शव नेपाल ल्याउन सरकारले काम थाल्ने जानकारी दिनुभयो । यस्तै बेपत्ता रहेका विपिन जोशीको अवस्था अझै थाहा नभएको र खोजी भइरहेको उहाँको भनाइ छ । घाइते चार जनामध्ये एक जना आज डिस्चार्ज भएका पनि मन्त्रालयले जनाएको छ ।युद्धग्रस्त क्षेत्रमा खतरामा रहेका एक सय २७ जनालाई सुरक्षित ठाउँमा सारिएको प्रवक्ता लम्सालले जानकारी दिनुभयो । मन्त्रालय र इजरायलमा रहेको नेपाली राजदूतावासले नेपाल फर्कन चाहने नेपालीको रजिस्ट्रेशन खुला गरेकोमा अहिलेसम्म तीन सय ८८ जनाले नाम टिपाएका उहाँले बताउनुभयो । नेपाल आउन नाम टिपाएकालाई लिन नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज इजरायल जाने र जहाजले दुई सय ५० जनालाई ल्याउने उहाँले बताउनुभयो ।नेपाल आउन चाहनेहरूको सङ्ख्याका आधारमा सरकारले अर्को उडान गर्ने प्रवक्ता सेवा लम्सालको भनाइ छ ।

उज्यालो

Leave A Reply

Your email address will not be published.