दार्चुला : काठमाडौँ मोडेल अस्पतालका बरिष्ठ नशा रोग विशेषज्ञ डाक्टर सर्वोत्तम श्रेष्ठ दुर्गम क्षेत्रका नागरिकलाई औषधी वितरण गर्न दार्चुला पुगेका छन् । उनले दार्चुलाको महाकाली नगरपालिका–९ को थाप्ला र दत्तुका नागरिकलाई औषधी वितरण गरेका हुन् । दुर्गम क्षेत्रका २ सय नागरिकलाई निशुल्क औषधी वितरण गरिएको डाक्टर श्रेष्ठले बताए । उनले सोमवार महाकाली नगरपालिका–९ थाप्लाका १ सय बढी नागरिक र मंगलवार दत्तुका १ सय जति नागरिकलाई आपतकालिन प्राथमिक उपचारका औषधी वितरण गरेका छन् ।
शरीरको प्रतिरोधात्मक शक्ति बढाउने पौष्टिक तत्व, जुकाको औषधी, ज्वरो आएको, टाउको–जीउ दुखेको, पेट पोलेर दुखेको औषधी, दुखेको ठाउँमा दल्ने र आँखाको औषधी वितरण गरिएको डाक्टर श्रेष्ठले बताए । दुर्गम क्षेत्रका नागरिकलाई निशुल्क औषधी वितरण गर्ने आफ्नो लक्ष्य रहेकोमा यहाँ आएर आपतकालिन प्राथमिक उपचारका औषधी वितरण गरेको उनले बताए । डाक्टर श्रेष्ठको औषधी सेवा लिनेमा वृद्ध नागरिक बढी रहेका थिए ।