‘दुहुँ सरकार’ जनताको घरदैलोमा

स्वास्थ्य, पशु, कृषि, आयुर्वेद, योजना र विपद शाखा पनि साथमा

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिकाका जनप्रतिनिधिसहित विषयगत शाखाका प्रतिनिधिहरु आजभोलि जनताको घरदैलो अभियानमा छन् । जनताका समस्या बुझ्न गाउँपालिकाले करिब दुई हप्ताको अभियान शुभारम्भ गरेर घरदैलो केन्द्रीत भएको हो । जनतासँग अध्यक्ष कार्यक्रमको अभियान दिएर सिंगो दुहुँ गाउँपालिका घरदैलो अभियानमा रहेको गाउँपालिकाका प्रवत्ता एवं वडा नम्बर ३ का अध्यक्ष देब बहादुर बमले बताए । उनका अनुसार प्रत्यक्ष जनगुनासा सुन्न, सुझाव सल्लाह लिन र घरदैलोमा सेवा दिने उद्देश्यसहित अभियान थालिएको हो ।

अहिले प्रत्येक वडाका बस्तीबस्ती पुगेर जनताहरुका प्रत्यक्ष गुनासा तथा समस्याहरु सुन्ने, सुझाव सल्लाह लिने र सम्बन्धित शाखाहरुबाट सेवा दिने काम भइरहेको उनले बताए । अभियानमा गाउँपालिकाको स्वास्थ्य शाखा, कृषि शाखा, पशु शाखा, विपद् शाखा, शिक्षा शाखा, योजना शाखा र आयुर्वेद शाखाका प्रतिनिधि÷कर्मचारीहरु पनि साथमा रहेका छन् । उनीहरुले सम्बन्धित समस्याको घरदैलोमा नै निदान गर्ने अभिप्रायले सेवा दिइरहेकोे जनाइएको छ । खासगरी स्वास्थ्य शाखाले नागरिकको रक्तचाप परिक्षण, प्राथमिक उपचार तथा औषधी वितरण गर्नुका साथै परामर्श सेवा प्रदान गरिरहेको छ भने आयुर्वेद शाखाद्धारा आयुर्वेदिक प्राथमिक उपचार, योगाध्यान, आशनद्वारा उपचार विधि एवं परामर्श र आवश्यक औषधिहरु वितरण गरिदै आएको छ ।

विपद शाखाले पुनःनिर्माणमा परेका लाभग्राहीहरुको दोस्रो किस्ता मागको लागि आवश्यक फर्म फाराम भर्ने, तथ्यांक संकलन गर्ने काम गरिरहेको जनाइएको छ । योजना शाखाले आवश्यक योजनाहरुको नापजाँच साथै थप योजनाहरुको टिपोट गर्ने, कृषि शाखाले कृषि बिउबिजन वितरण, किटनाशक औषधी वितरण गर्नुका साथै कृषि सम्बन्धी आवश्यक परामर्श प्रदान गरिरहेको छ । यस्तै पशु शाखाले विभिन्न पशुहरुलाई सुइ लगाउने, औषधी वितरण गर्नुका साथै पशु सम्बन्धि आवश्यक परामर्श प्रदान गर्ने, शिक्षा शाखाले विद्यालयहरुको अनुगमन तथा सुपरिवेक्षण गर्नुको साथै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि आवश्यक सुझाव सल्लाहहरु लिने काम गरिरहेको जनाइएको छ ।

घरदैलो अभियानमा गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडाल, उपाध्यक्ष शान्ती बम, प्रवत्ता देब बहादुर बम लगायत सम्बन्धित वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको छ । यहि मंसिर १ गतेबाट सुरु भएको अभियान मंसिर १२ गतेसम्म संचालन हुने दुहुँ गाउँपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.