दार्चुला । नेकपा एमालेका नेता धनबहादुर रावत मृत भेटिएका छन्। असोज ४ गतेदेखि बेपत्ता रहेका उहाँ अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको रवा लेकमा मृत अवस्थामा भेटिएका हुन्।
नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य समेत रहेका रावत असोज ४ गते रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा अनन्ते मेला हेर्न गएका थिए। सोही दिनदेखि बेपत्ता रहेका रावतको शव सोमवार बिहान दर्नाको कालारवा लेकको जंगलमा भेटिएको प्रहरीले जनाएको छ।
मोबाइल लोकेसनका आधारमा खोजी गर्दै उहाँको शव भेटिएको बताइएको छ। रावतको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए।रावत स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको वडा अध्यक्षको उम्मेद्वार रहेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।