भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण गर्न १० अर्ब अनुदान दिने

काठमाडौं-  भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि १० अर्ब रुपियाँ अनुदान सहयोग दिने भएको छ। बिहीवार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशका बीचमा भएको ऊर्जा व्यापार सम्झौताअनुरुप भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि १० अर्ब रुपियाँ अनुदान दिने भएको हो।

सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले सो कुराको जानकारी दिए। उहाँले दुई देशका ऊर्जा सचिवबिचमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौता भएको पनि बताए।

नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी र न्यु स्पेस इण्डिया लिमिटेडबिच नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमति पनि भएको छ। त्यसैगरी काठमाडौंस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोड रुपैयाँसम्म सोझै लगानी गर्नसक्ने पनि सहमति भएको उहाँले जानकारी दिए।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १३२ केबी पावर क्षमताका तीन वटा प्रशारण लाइनको उद्घाटन भएको बताउनु भयो। उहाँले भैरहवा, रक्सौल–परवानीपुरको सेकेण्ड सर्किट र कुसाहा–कटैता सेकेण्ड सर्किट लाइन उद्घाटन भएको उल्लेख गर्दै यसले नेपाल–भारतका बीचमा ऊर्जा आदानप्रदानमा ठुलो सहयोग पुग्ने बताए। घिसिङले ट्रान्समिसन लाइनको सम्बन्धमा भोलि चितवनमा ऊर्जा सचिव तहको बैठक बस्ने पनि जानकारी दिए।

Leave A Reply

Your email address will not be published.