राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तागठबन्धनमा सिट बाँडफाँट

काठमाडौँ- राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सत्तारुढ गठबन्धनको बैठकले संयुक्तरुपमा उम्मेदवारी दिने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

उहाँका अनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले छ, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी नेपालले एक सिटमा उम्मेदवारी दिने गरी सहमति भएको छ । बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ । उक्त निर्णय लगत्तै उम्मेदवार टुङ्गो लगाउन बालुवाटारमा माओवादी केन्द्रको बैठक सुरु भएको छ । साथै नेपाली कांग्रेसको बैठक सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन र भोलि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका तय गरिएको छ । मनोनयन दर्तापछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ भने मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशित हुनेछ ।

Leave A Reply

Your email address will not be published.