गुजरातमा डुंगा डुब्दा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु

काठमाडौं – भारत गुजरातको एक तलाउमा डुंगा डुब्दा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु भएको छ । गुजरातको बडोदरास्थित हरनी तलाउमा घुम्न भनेर गएका शिक्षक र विद्यार्थीहरु दुर्घटनामा परेका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार डुंगा खचाखच भरिएको थियो । डुंगामा चढेकाहरुले लाइफ ज्याकेट पनि नलगाएकाले धेरै मानवीय क्षति भएको बताइएको छ । १२ विद्यार्थी र २ शिक्षकको मृत्यु भएको तथा तीन जना अझै हराइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

डुंगा दुर्घटनाको जानकारी पाएलगत्तै गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेल घटनास्थल पुगेका थिए । उनले खोज तथा उद्धारमा तीव्रता दिन निर्देशन दिएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस घटनामा दुःख व्यक्त गर्दै स्थानीय प्रशासनलाई प्रभावित व्यक्तिहरुलाई हरसम्भव सहायता प्रदान गर्न निर्देशन दिएका छन् । साथै प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले घाइते भएकाहरुलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा पनि मोदीले गरेका छन् । उनले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.