रुसी सेनामा थप एक जना नेपालीको मृत्यु

काठमाडौं- रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको जानकारी दिए ।

गत भदौमा रुसी सेनामा भर्ती हुन पुगेका उनको मृत्युको खबर गत पुस १२ गते परिवारलाई आइपुगेको थियो । मृतक मोक्तानसँगै रुसी सेनामा पुगेका साथीहरुले परिवारलाई उनको मृत्युको खबर पठाएका थिए । त्यसपछि उनकाबारे थप कुनै खबर आएको थिएन ।

गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलानले तीन दिन अघिमात्र रुसबाट उनको मृत्युको फोटोहरु आएको अनलाइखबरलाई बताए ।‘रुसका एक जना कमाण्डरले मृतकका फोटोहरु परिवारलाई पठाएका छन्’ उनले अनलाइनखबर भने, ‘मृतकको लाशको फोटोहरु प्राप्त भएपछि परिवारले मृत्यु भएको स्वीकार गरिसकेको छ ।’ मृतक पूर्व नेपाली आर्मी हुन् । उनको घरमा श्रीमती, आमा एक छोरा र एक छोरी छन् ।

Leave A Reply

Your email address will not be published.