काठमाडौं – नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज बिहान निधन भएको छ । १०२ वर्षीया पोखरेलको बिहान ४ बजे सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।
स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलकी धर्मपत्नी तथा संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगको पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीहरू प्रियंवदा र सत्यवतीका आमा द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनः स्थापनाका लागि योगदान रहेको थियो ।
उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी थिइन् । स्वश्र गोवर्द्धन शर्मा पोखरेलको पञ्चायतले सर्वस्व हरण गरेपछि उनलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार भई पैदल हिँडाई पोखरा हिरासतमा लगिएको थियो ।
बाबु गोवर्द्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । उनी नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भएका थिए । उनी गोवर्द्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक थिइन् । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोख्रेलले जानकारी दिए । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले परिवारका सदस्यहरूलाई टेलिफोन गरि उनीप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।